मर्स्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन प्रसारण लाइनमा फेरि अवरोध हुने जोखिम बढेको छ । वर्षौं रोकिएर एक हप्ताअघिदेखि मात्रै शुरु भएको काममा फेरि अवरोध हुनसक्ने भन्दै स्थानीय तहले नै चिन्ता व्यक्त गरेको छ ।
८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये धादिङको सिद्धलेक गाउँपालिकाको पिपलटारका आयोजना प्रभावित स्थानीयले २ वटा टावरको जग खन्नै दिएका थिएनन् । एक हप्ताअघि मात्रै जिल्ला प्रशासन कार्यालय धादिङमा भएको सर्वपक्षीय छलफलपछि मुआब्जा बुझ्न र काम अघि बढाउन दिन स्थानीयबासी सहमत भएका थिए । मुख्यगरी लाइनको तारमुनि जग्गा पर्ने स्थानीयले मुआब्जा बुझ्न मानेका थिएननन् । तर, मुआब्जा रकममा वृद्धि गर्ने सहमतिपछि अवरोध हटेको थियो ।