आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । रामसीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्शाउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरुले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरि जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छ; सागरहरु छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरु मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरुको कीर्तिको गुणगान गाइन्छ ।
आजको दिन विशेष दिन किन पनि हो भने आजकै दिन त्रेतायुगमा अयोध्याबाट राम आएर मिथिला राज्यको राजधानी जनकपुरधामबाट राजकुमारी सीतालाई विवाह गर्नुभएको थियो । मंसिर शुक्ल पञ्चमीको आजको दिनलाई त्यसैले त विवाह पञ्चमी पनि भनिएको हो । वैदिक सनातन हिन्दु संस्कृतिअनुसार राम र सीताको विवाह भएको प्रसंग हामीले बारम्बार सुन्दै आएका छौँ ।
राम र सीताको विवाहको उत्सव मनाउन अहिले त रामजानकी मन्दिरमा साताव्यापी कार्यक्रम नै गरिन्छ । साताभर चल्ने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । अनि आजको दिन विवाह गर्न चाहने जोडीहरुले कुनै पनि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ ।
जनकपुरका लागि यो विशेष दिन पनि किन हो भने सीताको जन्म जनकपुरमा नै भएको मानिन्छ । मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी सीताको अयोध्याका राजा दशरथका जेठा छोरा रामसँग विवाह भएको थियो ।
यो विवाहबारे एउटा प्रसंग रोचक छ । राजा जनकले संरक्षण गरेर राखेको शिव धनुलाई ठूलाठूला वीरहरुले पनि उचाल्न सकेका थिएनन् । तर, सीताले पूजा कोठा सरसफाई गर्दा एक्लै धनुलाई उचालेकी थिइन् । उनले धनु उचालेको थाहा पाएपछि राजा जनकले त्यो शिव धनु उचाल्न सक्ने वीर पुरुषसँग आफ्नी छोरीको विवाह गर्ने बताएका थिए ।
अयोध्याका राजकुमार रामले धनु उचालेका मात्र थिएनन्, उनले धनु उचाल्ने क्रममा त्यो भाँचिएको समेत थियो । तीन टुक्रामा धनु भाँचिएपछि राजा जनकले पहिले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गर्न राजी भएका हुन् । भनिन्छ, राम र सीताको विवाह धुमधामका साथ भएको थियो । त्यही समयदेखि नै आजको दिनलाई विवाह पञ्चमीका रुपमा मनाउन थालिएको हो । अहिले पनि जनकपुर धाममा यो दिनका लागि विशेष तयारी गरिन्छ, मानौँ त्यहाँ साँच्चिकै सीताको विवाह हुन लागेको छ । त्यसो त भगवान रामको जन्मस्थान अयोध्याबाट आजै सीतासँग विवाहका लागि जन्ती आउने प्रचलन पनि रहेको छ, जन्ती आउनेहरुले रामको प्रतिमा ल्याउने गर्छन् । यता जनकपुरमा पनि सीताको प्रतिमा तयार पारिएको हुन्छ ।