जनकपुरधाम : आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ ।
घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
यसैबिच जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरलगायतका शक्तिपीठहरुमा पनि आज फुलपाती भित्राइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र नेपाली सेनाको गुल्मबाट फुलपातीको डोली लिएर राजदेवी मन्दिरमा फुलपाती भित्राइएको छ । फुलपाती भित्राउन नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरु तथा स्थानीयबासीहरुपनि देवीको मन्दिरमा पुगेका थिए ।
जनकपुरधामको राजदेवी मन्दिरबाट महन्थको नेतृत्व र आयोजक महावीर युवा कमिटीको अगुवाईमा बाजागाजासहित निस्केको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपुर्वक पुजापाठ गरि मन्दिरमा भित्राइएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडी बेललाई कपडाले बाँधेर निमन्त्रणा दिइएको हुन्छ ।
विधिपूर्वक तोडेर डोलामा सजाएर बेललाई भगवतीको रुपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराईएपछि फुलपाती सम्पन्न हुन्छ ।
सोहि विधी पछि पण्डालहरुमा बनार्ईएको माँ दुर्गा भवानीसहितको देवीदेवताको मुर्ती दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ ।