एजेन्सी, २२ माघ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । उनको उपचारका क्रममा दुबईमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
७९ वर्षका उनी एमलोइडोसिस् रोगबाट पीडित थिए । मुसर्रफ ३ हप्तादेखि अस्पतालमा भर्ना थिए । पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिऊन् ।’
१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए ।
मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए र मुसर्रफलाई सरिफले नै सेना प्रमुख नियुक्त गरेका थिए । सैनिक कुबाट पाकिस्तानको कार्यकारी अधिकार हातमा लिएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।
सन् २००८ को चुनावमा मुसर्रफको दलले चुनाव हारेपछि उनी दुबई र लण्डनमा निर्वासनमा गएका थिए र सन् २०१३ मा पाकिस्तान फर्केका थिए । स्वदेश फर्केपछि उनीमाथि विभिन्न मुद्दा लागेको थियो ।
सन् १९४३ मा दिल्लीको उर्दु भाषी परिवारमा जन्मेका उनले सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा परिवारसँगै भारत छाडेका थिए ।