२०८०/०४/०५ गते
उदेश पाण्डे
बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ ।
पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार सोमबार राती करिब १० बजे ७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा गाउँकै दुई पक्षबिच विवाद हुँदा झडप भएको थियो ।
झडपका क्रममा ढुङ्गामुढा हानाहान हुँदा केही व्यक्ति घाइतेसमेत भएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार स्थित सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड हवाई फायर गरी भीडलाई तितरबितर बनाएको थियो ।
यद्यपि केही समयपछि पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि थप १ राउन्ड गरी जम्मा आठ राउन्ड हवाई फायर गरेको न्यौपानेको भनाई छ । त्यसपछि भने स्थिति सामान्य बनेको उनले बताए ।
झडपमा ढुङ्गा हानाहान हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पचरौता – ७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र सोही स्थानका ४२ वर्षीय चण्डीका पटेल रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ ।उक्त ठाउँमा प्रहरी परिचालन गरिएको तथा पुनः त्यस् किसिमको कुनै झडप नहोस् भने जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेको छ।हाल उक्त ठाउँमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी निरीक्षक रबिभुसन यादवको कमान्ड ५० जना प्रहरी खटाएको कुरा जिल्ला प्रहरी कार्यालय बाराको सूचना अधिकारले बताउनुभयो