मान्छे मारेको बाघ समाउदा आडैमा भेटियो अर्को शव

  |

मसिर ११,२०८०
उदेश पाण्डे
चितवन — मान्छे मारेको बाघलाई नियन्त्रण गर्न गएको चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघले खाएको अर्को शव पनि फेला पारेको छ । बाघले शुक्रबार बिहान पौने १० बजेतिर राप्ती नगरपालिका-१ दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई आक्रमण गरेर ज्यान लिएको थियो ।
दुविचौरनजिकैको मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगीतालमा घाँस काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको थियो । उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको थियो । मान्छे मार्ने बाघ आइतबार राति पौने ९ बजेतिर नियन्त्रणमा आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । बाघको आडैमा अर्को शव पनि भेटिएको उनले जानकारी दिए ।

शवको कम्मरदेखि माथिल्लो भाग छैन । अन्दाजी १८/२० वर्षको युवकको शब भएको अनुमान गर्न सकिने चितवन राष्ट्रिय निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।

‘शुक्रबार घटना भएकै दिनदेखि गाउँका एक जना युवक हराइरहेका छन् । शरीरको माथिल्लो भाग छैन । तल्लो भागको कपडा र अन्य संकेतका आधारमा पहिचान गर्न खोजिँदैछ । अन्य परिष्कृत विधिको पनि सहारा लिइन्छ,’