आइतबार, ०९ असार २०८१
उदेश पाण्डे
मानिकपुर पर्सा ।नेपालमा वा छिमेकी रास्ट्र भारतमा प्रहरी आम नागरिकको हिफाजत गर्ने बरदात समयमा पुगेर घटना घट्न बाट रोक्ने काम प्रहरीको हो।तर भारतको उत्तर प्रदेश प्रहरीमा एक जना डिएसपी अर्थात प्रहरी अधिकृतको “डिमोसन”घटुवाले चारैतिर चर्चा पाइएको खबर मधेसभ्युज लाई प्राप्त भएको छ।
प्रहरीमा सरुवा, बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।
भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको छ । उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियालाई घटुवा गरेर सिपाही बनाइएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार कृपा शंकरले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए । तर बिदा स्वीकृत भएपछि उनी घर नगएर अन्तै घुम्न गएको पत्ता लाग्यो ।
डीएसपी कृपा शंकरले बिदा लिएर हिँडेपछि मोबाइल बन्द गरेका थिए । पत्नीले बारम्बार फोन सम्पर्क गर्न खोज्दा मोबाइल लगातार ‘स्वीच अफ’ पाइएपछि कार्यालयमा सोधखोज गरेकी थिइन् । कार्यालयबाट कृपा शंकर बिदामा गएको जानकारी पाएपछि पत्नीले उनी घर नआएको भन्दै सहयोग माग गरेकी थिइन् ।
कुनै अप्रिय घटनाको आशङ्का गर्दै उन्नाव एसपीले प्रहरीकै एउटा टोलीलाई कृपा शंकरको खोजीमा परिचालन गरेका थिए । प्रहरीको टोलीले उनको मोबाइल नम्बरबाट खोजीलाई अघि बढायो । यस क्रममा उनको मोबाइल कानपुरको एउटा होटलमा पुगेपछि बन्द भएको जानकारी प्राप्त भयो ।
प्रहरीले उक्त होटलमा खोजतलास गर्दा कृपा शंकर एक महिला प्रहरीका साथ भेटिए । प्रमाणका रूपमा प्रहरीको टोलीले कृपा शंकर देखा परेको भिडियोसमेत लिएर गएको थियो, जसमा सीसीटीभी क्यामेरामा उनी महिला प्रहरीसँगै होटलमा प्रवेश गरेको देखिएको थियो ।
राज्य सरकारले यो प्रकरणमा कृपा शंकरलाई घटुवा गरी सिपाही बनाउन सिफारिस गरिदियो । सोही आधारमा डीएसपी कृपा शंकरलाई गोरखपुरमा सिपाहीका रूपमा खटाइएको छ ।
प्रहरीको डिएसपी लाई गरिएको कार्वाही तथा यो काण्ड अहिले ब्यापक चर्चा पाइरहेको छ।