राजविराज, शनिबार
मिति: २०८३ कार्तिक ६ गते!
सप्तरी! मधेश प्रदेशको जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतको ईलाका प्रहरी कार्यालय कडरबोना अन्तर्गत पर्ने प्रहरी चौकी धातीको एरिया (कार्यक्षेत्र) मा एक महिला माथि सामूहिक रूपमा बलात्कार भएको दुखद घटना सार्वजनिक भएको छ।
समाचार स्रोतका अनुसार (ए ए नाम गोप्य) पीडित महिला सिराहा जिल्ला निवासी हुन।
रेप जस्तो जघन्य प्रकृतिको अपराधमा उनको गोपनीयता र संवेदनशीलता लाई ध्यानमा राख्दै नाम र ठेगाना गोप्य राखिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, आफ्नो गन्तव्यतर्फ पैदल हिँडिरहेकी ती महिला लाई उक्त प्रहरी चौकीको एरियामा मूर्ति विसर्जन गर्न हिँडेको समूहले नियन्त्रणमा लिएर सामूहिक जघन्य अपराध गरेको खुलेको छ।
ईलाका प्रहरी कार्यालय कडरवाना द्वारा मिति २०८३ कार्तिक ६ गते उक्त घटनाको मुद्दा दर्ता गरी कानुनी प्रक्रिया र अनुसन्धानलाई तीव्र पारेको सुचना प्राप्त भएको छ।
घटनाको गम्भीरता लाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)रुपक खड्काका अनुसार, जिल्लाबाट विशेष टोली परिचालन गरिएको छ। उक्त एरियामा घटेको घटनाको विस्तृत र सुक्ष्म अनुसन्धानका लागि एक जना जुनियर प्रहरी अधिकृत (जुप्र) को कमान्डमा ५ देखि ६ जना प्रहरीको विशेष टोली ‘कभर अपरेसन’ मा खटाईएको छ।
चाडबाडको बेला असुरक्षाको त्रास
दसैँ, तिहार तथा छठजस्ता ठूला चाडबाडको समयमा नेपाल-भारत सीमा क्षेत्र र तराईका जिल्लाहरूमा मानिसहरूको आवतजावत र चहलपहल एकाएक बढ्ने गर्दछ। यस्तो अवस्थामा मधेस प्रदेशका जिल्लाहरूमा शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति हुनुपर्नेमा उल्टै आम नागरिकले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्। सर्वसाधारणले खुलेर र सुरक्षित वातावरणमा चाडबाड मनाउन नपाउनु र सडकमै महिलाहरू असुरक्षित हुनु वर्तमान समयको एउटा ठूलो बिडम्बना बनेको छ। प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेकाले दोषीहरू चाँडै कानुनी दायरामा आउने दाबी गरेको छ।

