बिहीबार, ३ मंसिर २०८३
वीरगन्ज (पर्सा) । पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी स्कोर्पियो (Scorpio) गाडीलाई ट्राफिक नियम उल्लङ्घन गरी घरायसी तथा निजी प्रयोजनमा चलाएको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
madheshviews.com को विशेष कार्यक्रम ‘सडक संवाद’ अन्तर्गत गरिएको निगरानीका क्रममा हिजो (मंसिर २ गते) वीरगन्जको पावर हाउस चोकमा ना १ झ १६८६ नम्बरको सरकारी स्कोर्पियो गाडीलाई रोकेर ट्राफिक प्रहरीको जिम्मा लगाइएको हो।
उक्त सरकारी गाडी बिहानैदेखि अस्वाभाविक रूपमा बारम्बार ओहोरदोहोर गरिरहेको देखेपछि बिहान ७:०० बजेदेखि नै ‘सडक संवाद’ का सञ्चालकले गोप्य रूपमा गाडीलाई पछ्याइरहेका थिए। निगरानीका क्रममा गाउँपालिका अध्यक्षको छोराको इन्गेजमेन्ट (टीकाटालो) कार्यक्रममा सहभागी हुन आएका आफन्तहरूलाई ओसारपसार गर्न तथा होटल र पार्टी प्यालेससम्म पुर्याउन सरकारी गाडीको दुरुपयोग भइरहेको पुष्टि भएको थियो।
सवारी जाँचका क्रममा सरकारी सवारी साधनलाई कानुन विपरीत ‘अन्य प्रयोजन’ मा प्रयोग गरेको पाइएपछि ट्राफिक प्रहरीले कारबाही स्वरूप २४ घण्टे पुर्जी (चिट) काटेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगन्ज पर्सामा कार्यरत प्रहरी हवल्दार (प्र.ह.) देवबहादुर बोहराले उक्त चिट काटेका हुन्।
ट्राफिक चिटमा चालकको नाम प्रमोद साह गोढ उल्लेख छ भने कारबाहीका क्रममा चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स नं. ०२-०५-०१२९२५०४) खिचिएको छ। जरिवाना भुक्तानी गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगन्ज पर्साबाट खिचिएको कागजपत्र फिर्ता लैजान पुर्जीमा निर्देश गरिएको छ।
उक्त निगरानी तथा कारबाही प्रक्रिया अघि बढाउनुअघि madheshviews.com का ‘सडक संवाद’ सञ्चालकले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई घटनाबारे विस्तृत जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारीले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसैगरी, मधेस प्रदेश प्रहरी प्रमुख (डीआईजी) तथा ट्राफिक प्रहरी उपरीक्षक (एसपी) लाई समेत पूर्वसूचना र जानकारी गराएर यो विशेष निगरानी अभियान (अपरेसन) सञ्चालन गरिएको madheshviews.com ले जनाएको छ।
राज्यकोषबाट इन्धन र मर्मत खर्च व्यहोरिने सरकारी सवारी साधनलाई जनप्रतिनिधिले निजी तथा पारिवारिक उत्सवमा प्रयोग गर्नु कानुनको ठाडो उल्लङ्घन हो। ‘सडक संवाद’ टोलीले सार्वजनिक सम्पत्तिको यस्ता दुरुपयोगविरुद्ध आगामी दिनमा पनि निगरानी जारी राख्ने स्पष्ट पारेको छ।

