पशुपतिनगर प्रहरीको कमाण्डमै त्रुटि: डीएसपीको निर्देशन बेवास्ता गर्दै चिसापानीमा मध्यराति कौडा जुवा!

  |

सोमबार, २३ कात्तिक २०८३

हेटौंडा!जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगर र सोही मातहतमा रहेको अस्थायी प्रहरी पोस्ट हटियाका इन्चार्जको कमजोर कमाण्ड कन्ट्रोलका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानी चौबाटो क्षेत्रमा अवैध गतिविधिहरू मौलाउँदै गएका छन्। इन्चार्जको फितलो नेतृत्वका कारण जनप्रिय प्राविधिक स्कुल पछाडि हिजो राति व्यापक रूपमा कौडा जुवा भएको पाइएपछि स्थानीय नागरिकहरूले प्रहरी प्रशासनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
प्राप्त सूचना अनुसार, उक्त क्षेत्रमा कर्मचारी, धनाढ्य व्यक्तिहरू, व्यापारीहरू र जुवाडेहरू रातिको समयमा हाइलक्स (Hilux) गाडी, अटो र मोटरसाइकल चढेर जुवा खेल्न आउने गरेका छन्। रातिको समयमा अटो र महँगा गाडीहरूले जुवाडे ओसारपसार गरिरहेको दृश्य सो क्षेत्रमा जडान गरिएको सीसीटीभी (CCTV) फुटेज हेर्दा प्रष्ट हुने स्थानीयको भनाइ छ।
‘madheshviews.com’ लाई प्राप्त विशेष सूचना अनुसार, नाम नबताउने शर्तमा एकजना जनप्रतिनिधिले दिएको जानकारी अनुसार राति भएको जुवामा जुवाडेहरूलाई ओसारपसार गर्न २४५५ र ८८८ जस्ता नम्बरका अटोहरू प्रयोग गरिएका छन्। ती निश्चित नम्बरका अटोहरूले रातिको समयमा जुवाडेहरूलाई ल्याउने र लैजाने काम गरिरहेका छन्।
उक्त स्थानमा जुवा भइरहेको सूचना पाएपछि ‘madheshviews.com’ ले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) लाई फोन गर्दा फोन उठेन। त्यसपछि ‘madheshviews.com’ को सडक संवादको मोबाइल नम्बर ९८५५०४८९५४ बाट जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डीएसपीको मोबाइल नम्बर ९८५५०९०३१५ मा सम्पर्क गरी यसबारे जानकारी गराइएको थियो। कुराकानीका क्रममा डीएसपीले तदारुकताका साथ उक्त अवैध जुवा रोक्नका लागि तत्काल मातहतको प्रहरी टोलीलाई आदेश दिनुभएको थियो। तर, डीएसपीको उक्त कडा आदेशलाई समेत लत्ताउँदै र बेवास्ता गर्दै राति सो क्षेत्रमा निर्धक्क रूपमा जुवा सञ्चालन भयो। प्रहरी टोली पुग्नुअघि नै जुवाडेहरू hাইলक्स गाडी र चारवटा मोटरसाइकलमा फरार भइसकेकाले प्रहरीले उनीहरूलाई फेला पार्न सकेन।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई जुवा भइरहेको बारे जानकारी गराउँदा उहाँले “त्यस्तो केही पनि छैन” भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नुभएको थियो। इन्चार्जको कमाण्ड कन्ट्रोल कमजोर भएकै कारण डीएसपीको आदेश समेत कार्यान्वयन नहुनु, दाबी गरिएकै राति व्यापक रूपमा कौडा जुवा हुनु र जुवाडेहरू सहजै उम्किनुले पशुपतिनगर प्रहरीको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको यस्तो फितलो कमाण्डका कारण स्थानीयवासीमा प्रशासनप्रति नै चरम असन्तुष्टि बढेको छ।