बिहीबार, २६ कात्तिक २०८३
महोत्तरी । इलाका प्रहरी कार्यालय बर्दीबास को नेतृत्व सम्हालिरहेका प्रहरी नायब उपरीक्षक {डीएसपी} गुरु प्रसाद तिमल्सिना को काम कारबाही तथा कमाण्ड कन्ट्रोल माथि गम्भीर प्रश्न उठ्न थालेको छ। आफ्नो कार्यक्षेत्र भित्रका नदी तथा खोलानालामा भइरहेको अवैध दोहन रोक्न नसकेको र प्रहरी संगठनको नीति विपरीत सादा पोशाकमा (घुमुवा) परिचालन गरेको भन्दै स्थानीय स्तरमा तीव्र आलोचना सुरु भएको हो।
केही महिना अघि मात्रै बर्दीबास क्षेत्रका स्थानीय बासिन्दाहरूले रातो खोला मा अवैध रूपमा उत्खनन गरिरहेका जेसीबी मेसिनहरू नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। तर, स्थानीयले खबर गर्दा समेत प्रहरी समयमा घटनास्थल नपुग्दा प्रहरीको भूमिका माथि प्रश्न चिन्ह खडा भएको छ।
अहिले {डीएसपी} तिमल्सिनाले प्रहरी संगठनको निर्देशन विपरीत स्थानीय बासिन्दा समेत रहेका दुई प्रहरी कर्मचारीलाई सादा पोशाकमा (घुमुवा) का रूपमा खटाएको पाइएको छ। स्रोतका अनुसार बर्दीबास नै घर भएका प्रहरी वरिष्ठ हवल्दार श्याम कुमार थापा र प्रहरी सहायक हवल्दार राम कुमार दनुवार लाई सादा पोशाकमा (घुमुवा) परिचालन गरिएको छ।
तत्कालीन मधेश प्रदेश प्रहरी प्रमुख {डीआईजी} गोविन्द थपलिया ले बनाएको ‘प्रहरी कर्मचारी सरुवा तथा पदस्थापन सम्बन्धी मापदण्ड–२०८२’ अनुसार हरेक ६–६ महिनामा प्रहरी युनिटहरूमा कर्मचारीको अदली–बदली गर्नुपर्ने स्पष्ट व्यवस्था छ। उक्त मापदण्ड अनुसार ‘क’ वर्गको युनिटबाट ‘ख’ मा, ‘ख’ बाट ‘ग’ मा र ‘ग’ बाट अन्य युनिटमा चक्रीय प्रणाली अनुसार सरुवा गरिनुपर्छ।
तर, बर्दीबास मा भने यो मापदण्डको ठाडो उल्लङ्घन भएको देखिएको छ। अन्य प्रहरी कर्मचारीहरू ६–६ महिनामा सरुवा हुने गरे पनि स्थानीय घर भएका थापा र दनुवार भने लामो समयदेखि बर्दीबास मै कार्यरत रहँदै आएका छन्। अझ, प्रहरी सहायक हवल्दार राम कुमार दनुवार यस अघि नै सोही ठाउँमा कार्यरत रहँदा कारबाही स्वरूप निलम्बनमा समेत परिसकेका व्यक्ति हुन्। विवादास्पद पृष्ठभूमि भएका र स्थानीय बासिन्दालाई नै सादा पोशाकमा (घुमुवा) राखिँदा {डीएसपी} तिमल्सिनाको कमाण्ड कन्ट्रोल कमजोर देखिएको आम नागरिकको गुनासो छ।
पछिल्लो समय बर्दीबास क्षेत्रमा रात्रिकालीन व्यवसाय, डान्सबारको सञ्चालन समयावधि र होटलहरूमा हुने अवैध क्रियाकलापमा समेत वृद्धि भएको स्थानीयको आरोप छ। एकातिर खोलानाला दोहन भइरहँदा प्रहरी मूकदर्शक बन्ने र अर्कोतिर मापदण्ड विपरीत सादा पोशाकमा (घुमुवा) परिचालन गरी असुली धन्दा चलाउन खोजिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रशासन शाखामा समेत प्रहरी कर्मचारीलाई लामो समय एउटै ठाउँमा राखेको र सरुवामा काखापाखा गरेको भन्दै व्यापक गुनासो बढेको छ। सोही विवादका कारण प्रशासन शाखा हेर्ने प्रहरी निरीक्षक {इन्स्पेक्टर} टीका बराल माथि उजुरी परेपछि उनलाई प्रशासन शाखाबाट हटाएर हाल उजुरी छानबिन शाखामा सरुवा गरिएको छ।
प्रशासन शाखाबाट इन्स्पेक्टरलाई हटाइए पनि जिल्ला मातहतका युनिटहरूमा भने अझै बेथिति कायमै रहेको पाइएको छ। लामो समयदेखि सिपाही तथा हवल्दारहरूलाई एउटै स्थानमा राखिएको, सरुवा भइसकेका कतिपयलाई समेत रमाना नदिई रोकिएको र समयमा अदली–बदली नगरिएको गुनासो छ।
नाम नबताउने शर्तमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी कर्मचारीले मधेश भ्युज डटकम सँग कुरा गर्दै मातहतका युनिटहरूमा ‘क’ र ‘ख’ वर्गको मापदण्ड पूर्ण रूपमा लागू नभएको बताए। उनका अनुसार मापदण्ड विपरीत चौकीबाट चौकीमै सरुवा पठाउने तथा ‘राइट म्यान, राइट प्लेस’ को नीति अवलम्बन नगरिँदा सिपाही, हवल्दार, जुनियर अफिसरदेखि सिनियर अफिसरहरूसम्ममा आन्तरिक रूपमा चरम असन्तुष्टि चुलिएको छ।
यस विषयमा मधेश भ्युज डटकम ले जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख {एसपी} सँग सम्पर्क गरी “मापदण्ड विपरीत लामो समयदेखि एउटै ठाउँमा बसेका र कारबाहीमा समेत परेका प्रहरीहरूलाई कसको आशीर्वादमा त्यहाँ राखिएको हो?” भनी प्रश्न गरेको थियो। जवाफमा जिल्ला प्रहरी प्रमुख {एसपी} ले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै लामो समयदेखि त्यहाँ कार्यरत ती प्रहरी कर्मचारीहरूलाई छिटोभन्दा छिटो जिल्लामा तान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जिल्ला प्रहरी प्रमुखको यो प्रतिबद्धता पछि बर्दीबास को शान्ति सुरक्षा सुदृढ हुने र महोत्तरीको समग्र प्रहरी प्रशासनमा सुधार आउने अपेक्षा स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारीहरूले गरेका छन्।

