काठमाडौँ । बडादशैँको नवौं दिन आज मंगलबार महानवमी पर्व मनाइँदैछ।
महानवमीको दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। आजको दिन शक्तिपिठहरूमा घटस्थापनाका दिन विधिपूर्वक घरघरमा राखिएको जमरा चढाइन्छ। साथै, दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमददेवीभगवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
यस्तै, पशुबलि नदिनेले भने आ–आफ्नो कूल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो लगायतको बलि दिने र नरिवल चढाउने गर्छन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने महानवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।
सर्वसाधारणको दर्शनका लागि वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर महानवमीकै दिन खोलिन्छ। हनुमानढोकाको दशैँघर लगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन्।
आज महानवमीका दिन कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा समेत बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।