
जनकपुरधाम, २२ माघ । बाराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर–२ (क) बाट स्वतन्त्र निर्वाचित कलवारलाई मधेस प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले आइतबार पार्टी प्रवेश गराएका हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य पदको निर्वाचनमा कलवारले ९ हजार २९५ मत ल्याएर नेकपा एमालेका बलवीर भुजेललाई पराजित गरेका थिए ।
यसअघि महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साह र पर्सा क्षेत्र नम्बर–३(क)बाट स्वतन्त्र निर्वाचित प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।
योसँगै मधेस प्रदेशसभामा जसपाका १९ सांसद पुगेका छन् ।