२०८०/०७/१६ गते
उदेश पाण्डे
पर्सा सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरूवात गरेको छ।
बिहीबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल-भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मतको सुरूवात गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमा स्तम्भ मर्मतको सुरूवात गर्दै डिआइजी शाहले दुरूस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए। यसले सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्न र दुई देश बीचको सम्बन्धलाई थप मजबुद बनाउन योगदान पुर्याउने उनले बताए।
सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनहरूमा निरन्तर रूपमा मर्मत कार्य गरिने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत उनले बताए।