सशस्त्र प्रहरीको ठेक्कामा ज्वाइँकै हालीमुहाली

  |

२०८०/०८/०५ गते
उदेश पाण्डे
कमान्डमा निकै कम्जोर कमान्डरको रूपमा चिनिने एसएसपी दिपेन्द्र कुवर पर्सा जिल्लाको प्रमुख हुँदा निकै आलोचित बनेका तथा स्टाफ कोर्समा चोर बाटो प्रयोग गरेर भानु देउवाका बहिनी ज्वाइँ भएकै आधारमा उनी सशस्त्रमा आफ्ना ब्याचीलाई उछिन्दै डीएसपी, एसपी र एसएसपीमा जम्प हानेर बढुवा हुँदै आएका छन् ।

सशस्त्रमा उनका लागि नियम कानुन नै संशोधन गरी डीआईजी बढुवा गर्ने भानु देउवाको तयारी थियो । तर नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएकाले उनको केही जोर नचलेपछि उनी सशस्त्रको खरिद हेर्ने प्रबन्धमा कमाउ अभियानमा छन् ।

यसैबीच, नेपाल प्रहरी आफैंले कालोसूचीमा राख्न पत्र लेखेको राजमान मिश्रको जेएमबीडी इन्टरनेशनल प्रालिलाई ऊलन सर्ट, कटन पाइन्टको ठेक्का दिन आसयपत्र दिइसकेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न पत्र लेखेको डेढ महिना नाघिसकेको जेएमबीडीलाई फेरि हिमाली आइटमको ठेक्का दिनका लागि उसकै स्पेसिफिकेसनसँग मिल्नेगरी बोलपत्र आह्वान गरेको छ ।

हिमाली बुट १ हजार जोर र हिमाली कपडा एक प्याकेज गरी करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको आपूर्तिका लागि गएको कात्तिक २३ मा बोलपत्र सूचना निकालिएको छ ।