गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरियो, प्रधानमन्त्री दाहाल अस्पताल पुगेर भेटे

  |

मंसिर २०,२०८०
उदेश पाण्डे
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।
मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डाक्टर अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार डाक्टर मास्केसहितिको टोलीले मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरेको थियो । एन्जियोप्लास्टी रगतको नलीलाई फराकिलो बनाउने शल्यक्रिया प्रविधि हो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले अस्पताल पुगेर मन्त्री श्रेष्ठलाई भेटेका छन् । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।