२०८०/०८/२७ गते
उदेश पाण्डे
सर्लाहीमा अज्ञात समूहले पेस्तोल देखाएर पाँच लाख लुटपाट गरेका छन्।
बिहीबार दिउँसो हरिपुर्वा नगरपालिका-६ हनुमान चोक नजिकै अज्ञात समूहले बैङ्कका कर्मचारीहरूलाई पेस्तोल देखाएर उक्त रकम लुटपाट गरेका हुन्।
हरिपुर्वा नगरपालिकामा रहेको एनआईसी एसिया बैङ्कको शाखाबाट पाँच लाख निकालेर जयगंगा बचत तथा क्रण सहकारी संस्थाको सेवा केन्द्रका प्रतिनिधि बसन्तपुरतर्फ आउँदै थिए।
दिउँसो करिब तीन बजेको समयमा हनुमान चोकस्थित महाजनको पोखरी नजिकै अज्ञात समूहले पेस्तोल देखाएर उक्त रकम लुटेको सहकारीले जनाएको छ।
सहकारीका अनुसार सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा उक्त रकम लिएर आउँदै थिए। अचानक कालो मास्कले मुख छोपेर मोटरसाइकलमा आएर एक समूहले सो रकम लुटेर लगे।
घटना लगत्तै उनीहरुले चिच्याएर सहयोग मागेपछि वरिपरिका मानिसहरूले लुटेरालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। कालो मास्कले मुख छोपेको र मोटरसाइकलको नम्बर प्लेटमा माटोले पोतेको कारण लुटेरालाई चिन्न नसकिएको स्थानीयको भनाइ छ।
लुटेरालाई समात्न खोज्दा भाग्दै गरेका लुटेराहरुले पेस्तोलबाट एक राउण्ड हवाई फायर पनि गरेको प्रत्यक्षदर्शीको भनाइ छ। हवाई फायर पछि स्थानीयहरु रोकिएका थिए। र लुटेराहरु मोटरसाइकलमा फरार भए।
जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले लुटपाटमा संलग्न अज्ञात व्यक्तिहरुो खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको बताएका छन्।
डिएसपी थारुले सीमा क्षेत्रका साथै अन्यत्र पनि कडाइका साथ चेकजाँच भइरहेको र घटनाका सम्बन्धमा स्थानीयका साथै कर्मचारीसित पनि सोधपुछ भइरहेको बताए।
अज्ञात समूहले पेस्तोल देखाएर पाँच लाख लुटेपछि यहाँ सुरक्षा सतर्कता बढाइएको छ।अहिले जिल्ला प्रहरी कार्यालय सर्लाही बाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको कमान्डम १० जना प्रहरी परिचालन गरिएको तथा ईलाका प्रहरी कार्यालय केशरजंग बाट पनि प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठको कमान्ड उक्त एरियामा प्रहरी परिचालन गरिएको कुरा यस् मिडियाको संचालक उदेश पाण्डे सग प्र ना तथा जि प्र का सर्लाहीको सूचना अधिकारीले जानकारी दिए।