सोमबार , ०२ पुस २०८०,
उदेश पाण्डे
काठमाडौं । नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी) पदमा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए ।
बढुवा र पद रिक्तपछि प्रहरीमा ७ एसपीको दरबन्दी खाली छ । एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए ।
यसअघि २ जनाको दरबन्दी खाली थियो । अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालयको छ । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत नेपाल प्रहरीतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिकतर्फको २ दरबन्दी नेपाल प्रहरीतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ । यस्तै गृहले सहमति दिए लगत्तै बढुवा गर्ने तयारी छ ।
अघिल्लो पटकको बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ मा डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो । त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए । कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको छ ।
अहिले ७ वटा दरबन्दी थप नगरेका आधारमा १२ जनाको दौडधुप सुरु भइरहेको हो । पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन् ।
यीमध्येमा दरबन्दी मिलान नभएको खण्डमा ७ जना बढुवा हुनेछन् । त्यसमध्ये वरिष्ठताका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छन् । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ । तर, अहिले सिनियरभन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि छ । अहिले आकांक्षी केहीले आफू निकटका राजनीतिक दलबाट दबाब दिइरहेका छन् ।