इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर अधिकारी विवादमा: आचरण विपरीत कार्य गरेको आरोप

  |

वीरगन्ज, पर्सा ।
१५ असोज, २०८३ (बिहीबार)
जिल्लाको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) समुन्नत अधिकारी संगठनको नीति-नियम र आचरण विपरीत कार्य गरेको आरोपमा गम्भीर विवादमा तानिएका छन्। उनको कार्यशैली र विभिन्न गैरकानुनी गतिविधि विरुद्ध माथिल्लो निकायमा उजुरी परेपछि उनी छानबिनको घेरामा परेका हुन्।
पटेर्वा सुगौलीको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेदेखि नै इन्स्पेक्टर अधिकारीको कार्यशैली विवादित बन्दै आएको स्थानीय बासिन्दाहरूको भनाइ छ। इलाका प्रहरी कार्यालयको फितलो काम-कारबाही र अपारदर्शी सेवा प्रवाहप्रति आम नागरिक र सेवाग्राही लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए। स्थानीय स्तरमा प्रहरीमाथि जनविश्वास घट्दै गएपछि न्यायका लागि नागरिकहरू सिधै जिल्ला प्रहरी कार्यालय पर्सा (वीरगन्ज) सम्म धाउन बाध्य भएका छन्।
घुमुवा खटनपटन र सादा पोसाकका प्रहरीमाथि कारबाही
यसअघि, इन्स्पेक्टर अधिकारीले आफ्नो तोकिएको कार्यक्षेत्र भन्दा बाहिर गएर सादा पोसाकमा (घुमुवा) प्रहरी खटाई अनुचित कार्य गरेको पुष्टि भएपछि तत्कालीन जिल्ला प्रहरी प्रमुखले उनीसँग स्पष्टीकरण समेत सोधेका थिए। सोही प्रकरणपछि, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा व्यापक रूपमा परिचालन गरिएका सादा पोसाकका प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले त्यहाँबाट फिर्ता तानेर जिल्लामै हाजिर गराएको थियो। उक्त घटनामा संलग्न एक जना प्रहरी जवान मण्डललाई मधेश प्रदेश प्रहरी कार्यालयले अर्को जिल्लामा काज सरुवा समेत गरेको थियो।
यसबाहेक, वि.सं. २०८२ सालतिर इलाका प्रहरी कार्यालय अन्तर्गतकै एकटाँगा प्रहरी चौकीबाट खटिएको टोलीले जाँचका क्रममा कागजपत्र नभएको एक थान ‘ड्युक’ (Duke) मोटरसाइकल बरामद गरेको थियो। उक्त बरामद गरिएको सवारी साधनलाई कानुनी प्रक्रियामा लैजानुको साटो इन्स्पेक्टर अधिकारी आफैँले व्यक्तिगत प्रयोगमा ल्याएपछि उनी संगठनभित्र र बाहिर निकै आलोचित बनेका थिए।
सर्वसाधारणलाई नियन्त्रणमा लिई आर्थिक लाभ लिएको गम्भीर आरोप
पछिल्लो समय, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने एक जना सर्वसाधारण (सुरक्षा र गोपनीयताका कारण नाम ‘ए.ए.’ राखिएको) लाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ती व्यक्तिलाई कानुनी आधार बिना नै दुःख र मानसिक हैरानी दिएको तथा हिरासतमा राखी मोटो आर्थिक लाभ (लेनदेन) लिएर मात्र छाडेको गम्भीर आरोप इन्स्पेक्टर अधिकारीमाथि लागेको छ।
स्रोतका अनुसार, यस घटनाबाट आक्रोशित पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित रूपमा उजुरी दर्ता गराएका छन्। नाम र ठेगाना गोप्य राख्ने सर्तमा मधेश भ्युज डटकमसँग कुरा गर्दै एक स्थानीयले भने, “घटनाको पूर्ण विवरण र प्रमाणसहित प्रहरी उपरीक्षक (एसपी) समक्ष लिखित उजुरी दिइएको छ। यसपटक प्रहरीको उच्च प्रशासनले गम्भीरतापूर्वक छानबिन गरी कारबाही गर्नेमा हामी आशावादी छौँ।”
के भन्छ माथिल्लो निकाय?
यस विषयमा सत्यतथ्य र आधिकारिक धारणा बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसँग बुझ्दा उनले घटनाबारे आंशिक पुष्टि गरे। डीएसपी मल्लले भने, “त्यहाँ एक जना सिपाही माथि केही गुनासो आएको छ। वास्तवमा त्यहाँ के-कसो घटना भएको थियो भन्नेबारे अहिले आन्तरिक रूपमा बुझ्ने र छानबिन गर्ने कार्य भइरहेको छ।