पर्सा, २० असोज २०८३ मंगलवार
पर्सा!नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी मधेस प्रदेश प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन विशेष ‘अप्रेशनल’ सुरक्षा योजना सार्वजनिक गरेको छ।
चाडपर्वको मौका छोपेर हुन सक्ने सम्भावित आपराधिक गतिविधि, चोरी-डकैती, तस्करी र कालोबजारी पूर्ण रूपमा ध्वस्त पार्न मधेश प्रदेशमा (७) सात हजार २ दुई सय २९ जना हतियारधारी तथा पिकेट प्रहरी तथा एलआरपी सहितको प्रहरी जनशक्ति फिल्डमा खटाइएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (SSP) प्रभु ढकालले madheshview.com को कार्यक्रम “सम्बन्धित व्यक्ति सँगकाे सवाल”कार्यक्रममा विशेष कुराकानी गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता (High Alert) मा राखिएको जानकारी दिनुभयो।
प्रहरी बरिष्ठ उपरीक्षक
(एसएसपी) ढकालका अनुसार चाडपर्वमा घर फर्कने यात्रुहरूलाई अपराधी र बिचौलियाबाट जोगाउन प्रदेशका १२५ स्थान भन्दा बढी रणनीतिक स्थानहरूमा ‘यात्रु सहायता कक्ष’ (Passenger Assistance Desk) स्थापना गरी चौबीसै घण्टा सेवा सुरु गरिएको छ।
🚨 सीमा नाका र आठै जिल्लामा ‘विशेष कमाण्ड’
खुला सिमानाका कारण हुन सक्ने सम्भावित घुसपैठ र आपराधिक क्रियाकलाप रोक्न नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अभूतपूर्व रूपमा कडा पारिएको छ।
सीमा नाकाहरूमा २४ सै घण्टा ‘नागरिक हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ, जसले भारतबाट घर फर्कने नेपालीहरूलाई लुटपाट, ठगी र सास्तीबाट सुरक्षा दिनेछ।
मधेस प्रदेशका आठवटै संवेदनशील जिल्लाहरू— पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका सदरमुकामदेखि ग्रामीण नाकासम्म विशेष कमाण्ड टोली परिचालन गरिएको छ।
⚡ २४ सै घण्टा गस्ती र पिकेट प्रहरी
सुरक्षा योजनाअन्तर्गत राजमार्ग र मुख्य बजार क्षेत्रहरूमा चौबीसै घण्टा पैदल तथा मोबाइल गस्ती (Mobile Patrol) तीव्र पारिएको छ। मुख्य व्यापारिक केन्द्रहरूमा पिकेट प्रहरी तैनाथ गरी सानादेखि ठूला जुनसुकै आपराधिक क्रियाकलापलाई तत्कालै नियन्त्रण गर्ने रणनीति लिइएको छ।
प्रहरीले आम नागरिकलाई कुनै पनि शङ्कास्पद गतिविधि वा घटना देखिने बित्तिकै ढिला नगरी तत्कालै नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने टोल-फ्री नम्बर १०० मा फोन गरेर सूचना दिन अपिल गरेको छ।

