शान्ति मिसन गएका डीएसपीको नाम सूचना अधिकारीमा कायमै, जिप्रका महोत्तरीमा नयाँ डीएसपी खटाउन हेडक्वार्टरको ढिलाइ

  |

जलेश्वर, महोत्तरी ।
२१ ,असोज, २०८३ बुधवार

महोत्तरी!जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रशासनिक उदासीनता र गैरजिम्मेवारीको पराकाष्ठा देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोले वैदेशिक शान्ति मिसनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट विदेश प्रस्थान गरेको एक महिनाभन्दा बढी भइसकेको छ।

तर, जिल्ला प्रहरी कार्यालयको भित्तामा सर्वसाधारणका लागि झुण्ड्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको आधिकारिक बोर्डमा भने आजका मितिसम्म उनकै नाम, तस्बिर र मोबाइल नम्बर कायमै राखिएको छ।

जिल्लाको शान्ति सुरक्षा र सूचना प्रवाह जस्तो संवेदनशील शाखामा जिम्मेवार अधिकारी नहुँदा आम नागरिक र सेवाग्राही मारमा परेका छन्। सूचना अधिकारी विदेश गइसकेको लामो समय हुँदा समेत कार्यालयले बोर्डबाट उनको विवरण हटाएर नयाँ अर्थात निमित्त सुचना अधिकारीको व्यवस्था नगर्नुले महोत्तरी प्रहरी कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट पार्छ।

यस गम्भीर लापरवाही र बेथितिको जवाफदेहिता कसले लिने भन्दै स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गरेका छन।

मधेश प्रदेशको सुगम जिल्ला महोत्तरीमा डीएसपी खटाउन हेडक्वार्टर ढिलाई
नेपाल प्रहरीको कानुनी प्रावधान अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) लाई जिल्ला तहमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा वा काजमा खटाउने पूर्ण अधिकार हुन्छ। तर, मधेश प्रदेशको एक महत्वपूर्ण र सुगम जिल्लाको रूपमा रहेको महोत्तरीमा एक महिनादेखि डीएसपीको पद रिक्त रहँदा समेत प्रहरी हेडक्वार्टरले नयाँ अधिकारी खटाउन सकेको छैन।
यति लामो समयसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी नायब उपरीक्षक डीएसपी स्तरको कमाण्डर खाली रहनु र हेडक्वार्टरले उक्त स्थान तत्कालै अर्को डिएस्पी काज गर्न नसक्नुले प्रहरी नेतृत्वको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

हिमाल, पहाड अति दुर्गम जिल्लाहरूमा सामान्य अवस्थामा पनि जनशक्ति पुर्‍याउने दाबी गर्ने हेडक्वार्टर महोत्तरीको हकमा भने पूर्ण रूपमा असफल र लाचार देखिएको छ।
सूचना पाउन नागरिक र पत्रकारलाई सास्ती
नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ। तर, महोत्तरी प्रहरीको सूचना शाखा नै निमित्तको भरमा चल्दा वा जिम्मेवार अधिकारी नहुँदा जिल्लाका दैनिक घटना, अपराध अनुसन्धान र गतिविधिबारे आधिकारिक जानकारी पाउन सर्वसाधारण तथा सुचना माग गर्ने पात्रहरूले निकै सास्ती खेप्नु परिरहेको छ।

प्रहरीको शान्ति मिशनमा विदेश गइसकेका डिएस्पी सुचना अधिकारीकाे नम्बर सुचना बोर्डमा राखेर नागरिकलाई भ्रममा पार्ने कार्य तत्काल सच्याई प्रहरी प्रधान कार्यलय हेडक्वार्टरले
महोत्तरीमा तुरुन्तै नयाँ डीएसपी खटाउनुपर्ने कुरा सेवाको उदेश्यले जिल्ला प्रहरी जाने स्थानीय सरोकारवालाहरूले राखेका छन।
नेपालमा अहिले पहिला जस्तो राजनीतिक दलको दबाव छैन प्रहरीमा अहिलेको अवस्थामा गृह मन्त्री बनेका सुधन गुरुङ समेत सरूवा बढुवामा दबाव छैन। तैपनि सरुवामा ढिलाई हुँदा सबैलाई झस्काएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रशासन शाखा संग निम्न वर्गका प्रहरी तथा उजुरी शाखाकाे कार्य प्रस्तुति शैलीबाट सेवाग्राहि सन्तुष्ट छैनन्।