जनकपुरधाम, धनुषा ।
२४ असोज, २०८३ शनिबार
मधेश प्रदेश प्रहरी कार्यालय द्वारा जुनियर प्रहरी अधिकृतहरूको सरुवा र खटनका लागि बनाएको ‘प्रहरी मापदण्ड’ (२०८२)धनुषा जिल्लामा भने पूर्ण रूपमा असफल र निस्प्रभावी देखिएको छ।
देशमा अहिले सुशासनको नारा चलिरहँदा पावर सेन्टर अर्थात शक्ति केन्द्रको आशीर्वाद प्राप्त केही निश्चित वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) हरूका अगाडि जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का तथा मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम अधिकारीको नीति समेत लाचार बनेको पाइएको छ।
मधेश प्रदेशका अन्य सातवटा जिल्ला प्रहरीहरुमा मापदण्ड कडाइका साथ लागु भइरहँदा धनुषा जिल्लामा भने नियम विपरीत ‘क’ श्रेणीको चौकी कमाण्ड गरिसकेका जुनियर अधिकृतहरू लाई पुनः ‘क’ श्रेणीकै अर्को आकर्षक चौकीको कमाण्ड सुम्पिने गरिएको पाइएको छ।
मधेश प्रदेश प्रहरीको मापदण्ड अनुसार एकपटक चौकीको इन्चार्ज भइसकेपछि कम्तीमा ६ महिना जिल्ला वा अन्य गैर-इन्चार्ज शाखामा (वेटिङ) बस्नुपर्ने स्पष्ट नियम छ। तर, जि प्र का धनुषामा भने शक्तिशाली वरिष्ठ सईहरू एक दिन पनि वेटिङमा नबसी सिधै मालदार चौकीहरूमा चकटी ओछ्याएर बसिरहेका छन्। ६ महिनाको नियम विपरीत ९–९ र १०–१० महिनासम्म एउटै चौकी कब्जा गरेर बस्ने यो प्रवृत्तिले जिल्ला प्रहरी कार्यालय मात्र नभई समग्र प्रहरी संगठनभित्रै चर्को चर्चा र असन्तुष्टिको विषय बनेको छ।
सिनियर प्रहरी अधिकृतको सनसनीपूर्ण खुलासा: इलाकाहरू पनि विवादमा
नाम गोप्य राख्ने सर्तमा मधेश प्रहरीका एक सिनियर प्रहरी अधिकृतले धनुषाको यो बेथिति चौकीहरूमा मात्र नभई इलाका प्रहरी कार्यालयहरूमा समेत जड गाडेर बसेको खुलासा गरेका छन्। उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहत रहेका इलाकाहरूको कार्यसम्पादन पनि अत्यन्तै खराब र विवादित छ।
गलत काम गरेकै र आर्थिक चलखेलमा लागेकै आरोपमा हालै इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई हेडक्वार्टरले सिधै तानेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो। इन्स्पेक्टरले (सीआरएस) (Criminal Record System) रिपोर्ट समेत नहेरी एक जना गम्भीर ठगी मुद्दाका अभियुक्तलाई आर्थिक प्रभावमा परेर छाडिदिएका थिए, जब कि ती व्यक्ति माथि रूपन्देही जिल्लामा समेत ठगी मुद्दा विचाराधीन थियो। यस्तै बेथिति र विवादका कारण अहिले इलाका प्रहरी कार्यालय यदुकुहा र इलाका प्रहरी कार्यालय खजुरी समेत तीव्र विवाद र नागरिकको आक्रोशको घेरामा परेका छन।
जिल्लाका ब्याजी लेखापालको ‘सिन्डिकेट’ र राजनीतिक कनेक्सन
रहस्यमय कुरा त के छ भने, यी वरिष्ठ सईहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाको आर्थिक प्रशासन शाखा (लेखा शाखा) मा बस्ने उनीहरूकै ब्याजी लेखापालले आन्तरिक सिन्डिकेट खडा गरेर पूर्ण रूपमा सहयोग गरिरहेका छन। जिल्लाको बजेट, रासन र प्रशासनिक पहुँचको चाबी हातमा लिएका लेखापाल र यी वरिष्ठ सईहरूको भित्री साठगाँठले गर्दा धनुषा प्रहरी पूर्ण रूपमा एउटा गिरोहको कब्जामा परेको स्रोतको दाबी छ।
यसका साथै, यी वरिष्ठ सईहरूलाई विगत लामो समयदेखि राजनीतिक दलका उच्च नेताहरूको संरक्षण मिल्दै आएको छ। यही राजनीतिक कनेक्सन र पहुँचको फाइदा उठाएर उनीहरू कानुन र मापदण्डलाई लत्याउँदै आकर्षक चौकीहरूमा टिकिरहेका छन।
नियम मिचेर आकर्षक चौकी कब्जा गर्ने वरिष्ठ सईहरूको सूची:
धनुषा मातहतका विभिन्न प्रहरी चौकीहरूमा विगत १०-१० महिनादेखि मापदण्ड विपरीत इन्चार्ज टिकिरहेका र ‘क’ बाट सिधै ‘क’ चौकीमा सेटिङ मिलाउने भाग्यमानी अधिकारीहरूको नालीबेली यसप्रकार छ:
• वरिष्ठ सई मोहनमणि कटुवाल: विगत ८ महिनादेखि निरन्तर रूपमा आकर्षक मानिने जानकी प्रहरी चौकीको इन्चार्जका रूपमा कार्यरत छन्।
• वरिष्ठ सई रमण पण्डित: सुरक्षा र रणनीतिक हिसाबले महत्वपूर्ण मानिने जिरो माइल प्रहरी चौकीमा विगत ८ महिनादेखि इन्चार्जका रूपमा जमेका छन्।
• वरिष्ठ सई सन्तोष गोले: ७ महिनासम्म कपलेश्वर प्रहरी चौकीको कमाण्ड सम्हालेका उनी नाम मात्रको १ महिना जिल्ला तानेको जस्तो देखाएर लगत्तै नियम विपरीत पुनः ‘क’ श्रेणीकै गिधा ३, कोरिया प्रहरी चौकीमा इन्चार्ज बन्न सफल भई त्यहाँ पनि ८ महिना बिताइसकेका छन्।
• वरिष्ठ सई हिमाल भण्डारी: यसअघि ७ महिनासम्म इप्रका औरहीको इन्चार्ज चलाएका उनी सिधै ‘क’ बाट ‘क’ को सेटिङ मिलाउँदै अहिले ७ महिनादेखि इनर्वा प्रहरी चौकीको कमाण्ड सम्हालिरहेका छन्।
• वरिष्ठ सई जितेन्द्र चौधरी: जिल्ला कार्यालय आएको १ वर्ष भए पनि विगत १० महिनादेखि निरन्तर रूपमा ईलाका प्रहरी कार्यालय मुजेलियामा इन्चार्जका रूपमा कमाण्ड गरिरहेका छन।
१३८ टोलीका ‘भाग्यमानी’ सईहरू: अन्य जुनियर अफिसरको मनोबल डाउन
नेपाल प्रहरीभित्र वि.सं. २०६३ सालमा सेवा प्रवेश गरेको १३८ टोलीका यी वरिष्ठ सईहरू संगठनभित्रै सबैभन्दा भाग्यमानी र शक्तिशाली दर्जाका रूपमा चिनिएका छन्। अन्य जुनियर अधिकृतहरूको निश्चित अवधि पूरा भएपछि विकट वा मधेश बाहिरका जिल्लाहरूमा सरुवा हुने गरे पनि यी सईहरू भने सधैँ तराईकै सुगम र आकर्षक जिल्लाहरू फन्को मारिरहेका छन्। यसअघि बारा, पर्सा, र सर्लाही जस्ता आकर्षक जिल्लाहरूमा लगातार चौकी कमाण्ड गरिसकेका उनीहरू अहिले धनुषामा पनि कानुन विपरीत चौकी कब्जा गरेर बसेका छन्।
कसैलाई चौकीबाट चौकी, कसैलाई ‘क’ बाट ‘क’ मा सरुवा हुँदा कुनै मापदण्ड लागू नहुने तर पहुँच नभएका अन्य इमानदार जुनियर अफिसरहरू भने सधैँ गैर-आकर्षक ठाउँमा थुनिनुपर्ने यस असमानताले अन्य जुनियर अफिसरहरूको मनोबल पूर्ण रूपमा डाउन (घटेको) भएको छ।
एसपीको भूमिका शंकास्पद, आईजीपीको दोहोरो नीति
यो चरम बेथिति र मापदण्डको धज्जी उडिरहँदा पनि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मौन बस्नुले उनको भूमिकामाथि गम्भीर शंका पैदा गरेको छ। स्थानीय नागरिकहरूका अनुसार जिल्लाका एसपीभन्दा पनि यी वरिष्ठ सईहरू राजनीतिक पहुँचका कारण बढी ‘पावरफुल’ देखिएका छन्, जसका कारण एसपीले समेत उनीहरूलाई चलाउन आँट गरेका छैनन्।
एकातिर प्रहरी संगठनमा सुशासन र मापदण्डको चर्को नारा दिने आईजीपी, अर्कोतिर धनुषा जस्तो संवेदनशील जिल्लामा पहुँचवाला वरिष्ठ सईहरूलाई नियम विपरीत वर्षौँसम्म तराईकै मालदार चौकीहरू सुम्पिरहने हेडक्वार्टरको यो दोहोरो चरित्रले इमानदार प्रहरीहरूको सातो उडाएको छ। मधेशका अन्य जिल्लामा लागू हुने नियम धनुषामा किन लागू हुँदैन भन्दै संगठनभित्रै व्यापक असन्तुष्टि चुलिएको छ।
मधेश भ्युज्ज डटकमले अझै जिप्रका मातहत रहेको एक जना सई बारे आम नागरिकहरु दिएको सुचना तथा वहाँको कार्य बारे बुझ्दै छ

