सरकारी गाडीमै नियमको धज्जी:सिटिभिटिको गाडी सडकमै रोकियो, ट्राफिकद्वारा जरिवाना

  |

वीरगञ्ज, पर्सा ।
२०८३ असोज २८ गते, बुधबार ।
सरकारले विशिष्ट व्यक्तिदेखि सरकारी सवारी साधनहरूमा समेत कालो सिसा (Tinted Glass) प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको भए पनि यसको व्यापक उल्लंघन भइरहेको पाइएको छ। नियम र कानुनको धज्जी उडाउँदै गुड्ने सवारी साधनहरू विरुद्ध MadheshViews.com द्वारा सञ्चालित विशेष अभियान ‘सडक संवाद’ को टोलीले वीरगञ्जको सडकमा सिटिभिटि (CTEVT) को एउटा सरकारी गाडीलाई रोकेको छ।
वीरगञ्जको मुख्य भन्सार कार्यालय अगाडि बागमती प्रदेश-३-०३-००१ ञ ००५० नम्बरको उक्त सेतो रङको महिन्द्रा स्कोर्पियो (Mahindra Scorpio) गाडीले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको गाडीमा समेत कालो सिसा राख्न नपाइने गृह मन्त्रालयको कडा कार्यविधि र निर्देशनको ठाडो उल्लंघन गर्दै गुडिरहेको अवस्थामा ‘सडक संवाद’ टोलीले फेला पारेर रोकेको हो।
नियमविपरीत सरकारी गाडी कुदाइरहेको फेला पारेपछि टोलीले तुरुन्तै पर्साका ट्राफिक प्रहरीलाई खबर गरी घटनास्थलमा बोलाएको थियो। जनस्तर र मिडियाको तर्फबाट भएको यो सक्रिय खबरदारी र दबाबपछि सडकमा खटिएका ट्राफिक प्रहरीले उक्त गाडीलाई नियमविपरीत कार्य गरेको भन्दै तत्कालै जरिवानाको चिट (Fine Ticket) काटेर चालकलाई बुझाएका छन्। जरिवानापश्चात उक्त गाडीलाई आवश्यक थप कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय, विर्ता पठाइएको छ।
सरकारी सवारी साधनको व्यापक दुरुपयोग विरुद्ध ‘सडक संवाद’
पछिल्लो समय देशभर सरकारी सवारी साधनहरूको व्यापक दुरुपयोग भइरहेको जनगुनासो बढ्दो छ। गृह मन्त्रालयले सरकारी सवारी साधन सञ्चालन र सुरक्षासम्बन्धी स्पष्ट मापदण्ड बनाएको भए पनि स्थानीय तहका नगरपालिका, गाउँपालिका, प्रदेशका मन्त्रीहरू तथा विभिन्न सरकारी निकायका गाडीहरू यसको विपरीत सञ्चालन भइरहेका छन्। विशेष गरी दसैँ तथा चाडबाडको सार्वजनिक बिदाको समयमा सरकारी काममा नभई घरायसी किनमेल, बजार घुमघाम र व्यक्तिगत कार्यका लागि सरकारी गाडीको चरम दुरुपयोग भइरहेका दृश्यहरू सडकमा आम रूपमा देखिन थालेका छन।
यस्तै बेथिति, नियमको उल्लंघन र राज्यको स्रोत साधनको दुरुपयोग रोक्ने उद्देश्यका साथ MadheshViews.com ले सडकमै उत्रिएर यो विशेष निगरानी तथा खबरदारी अभियान (सडक संवाद) सञ्चालन गरेको हो। सरकारी पद र स्रोतको आडमा कानुनविपरीत कालो सिसा राखेर हिँड्ने तथा बिदाको दिन घरायसी काममा गाडी कुदाउने प्रवृत्तिविरुद्ध सञ्चारमाध्यम र प्रहरीको यो संयुक्त तत्परतालाई स्थानीय नागरिकहरूले निकै सकारात्मक रूपमा लिएका छन् र यस अभियानको उच्च प्रशंसा गरिरहेका छन।