१४,असोज२०८३ बुधबार
पर्सा!नेपाल पुलिस स्कुल, गरुडा रौतहटमा शक्तिकेन्द्रको आडमा चरम बेथिति मौलाएको पाईएको छ। विगत २१ वर्षदेखि गृह जिल्ला (घरपायक) पर्ने गरी एउटै स्कुलमा बसिरहेका तीन जना प्रहरी नायब निरीक्षक (सई) हरूको बसाइले प्रहरी संगठनभित्र शक्तिकेन्द्र कतिसम्म हाबी छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ।
सुरुवाती नोकरी (सिपाही दर्जा) देखि हाल सई दर्जामा पुग्दा सम्म २१ वर्षको सम्पूर्ण सेवा अवधि गृह जिल्लाकै स्कुलमा बिताउनेहरूमा सई राजकिशोर साह, सई शारदा तिमल्सिना र सई विद्या बस्नेत रहेका छन्।
विक्रम संबत् २०६२ सालमा नेपाल प्रहरीको सिपाही पदबाट सेवा प्रवेश गरेका यी तीनै जना सईहरू संगठन भित्रकै सबैभन्दा ‘भाग्यमानी’ अधिकृतका रूपमा देखिएका छन्। कागजमा सरुवा भए पनि दरबन्दी भएको ठाउँमा हालसम्म हाजिर नभएका, कहिल्यै फिल्ड ड्युटीमा नखटिएका तथा ब्यारेकमा समेत नबसी सिभिलियन (सर्वसाधारण) जस्तो रहनसहनमा बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल प्रहरी नियमावली, २०७१ को नियम ६७ र ७२ अनुसार सई लगायतका प्रहरी अधिकारीहरूको मुख्य कानुनी कर्तव्य शान्ति सुरक्षा, व्यावसायिक प्रहरी ड्युटी र चेन-अफ-कमाण्ड को पालना गर्नु हो। तर, पुलिस स्कुल रौतहटको सिसिटिभी (CCTV) फुटेज, त्यहाँ कार्यरत प्रहरी जवान तथा अन्य सूचना स्रोतका अनुसार यी तीनै जना सईहरू नियमविपरीत विद्यालयमा गणित, नेपाली र अंग्रेजी विषय पढाइरहेको खुलासा भएको छ।
प्रहरी संगठनमा तराई,पहाड तिर जुनियर अधिकारीहरूको अभावका कारण दुर्गमका प्रहरी चौकीहरूमा प्राविधिक तर्फका प्र स नि र सईहरू लाई समेत इन्चार्ज बनाएर खटाइएको अवस्था छ। यस्तो संवेदनशील समयमा दरबन्दी नै नभएका सईहरू पुलिस स्कुलमा २१ वर्षदेखि घरपायक बसेको कुराले सबैको ध्यान केन्द्रित गरेको छ।
प्रहरी कर्मचारीहरूको भर्नादेखि अवकाशपछिसम्मको सम्पूर्ण रेकर्ड राख्ने प्रहरी प्रधान कार्यालय मातहतको मानव स्रोत विकास विभागले आफ्नै कर्मचारी २१ वर्षसम्म एकै ठाउँमा बसेको थाहा नपाउनु वा बेवास्ता गर्नुले विभागको कार्यशैलीमाथि अनेकौँ प्रश्न उब्जाएको छ।
नाम उल्लेख नगर्ने सर्तमा बि सं २०५५/०५/०१, मा भर्ना भएका एक प्रहरी र २०६१ चैत १३ मा भर्ना भएका अर्का प्रहरीले ‘मधेश भ्युज डटकम’ सँग दुखेसो पोख्दै भने, “हामीले आफ्नो सेवा अवधिमा तराई, पहाड र हिमालका १० भन्दा बढी ठाउँमा सरुवा भएर काम गरि सके। तर पुलिस स्कुल रौतहटमा घरपायक बसेका २१ वर्ष देखि बसिरहेका सईहरूको कहिल्यै सरुवा हुँदैन। यस्तो पक्षपातले संगठनमा आबद्ध इमानदार प्रहरी कर्मचारीहरूको मनोबल गिराउने काम गरेको छ।”
उक्त पुलिस स्कुलभित्र लामो समयदेखि अन्य जुनियर प्रहरी अधिकारीहरू (जुप्रअ) को भने नियममित सरुवा भइरहेको छ। वि.सं. २०७४ देखि २०८३ को अवधिमा जुप्रअहरू विश्वबाबु बुढाथोकी, रामदेव पासवान, भवराज ठाकुर, कमल भण्डारी र बैजु महतो लगायतका थुप्रै कर्मचारी सरुवा भएर आउने-जाने क्रम चलिरहँदा, यी तीन जना सईहरू भने सिपाहीदेखि सई दर्जासम्म पुग्दा पनि सोही ठाउँमा टिकिरहेका छन्।
नाम गोप्य राख्ने सर्तमा एक पूर्व समादेशक (कमान्डेन्ट) ले ‘मधेश भ्युज डटकम’ सँग कुरा गर्दै भने, “उनीहरू पटक-पटक राजनीतिक भनसुन गराएर त्यहाँ बसिरहेका हुन्। मैले पनि उनीहरूलाई हटाउन खोजेको थिएँ, तर बारम्बार माथिल्लो तहबाट दबाब आयो। मधेश प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा भनसुन मिलाएर उनीहरू त्यहाँ बसेका हुन्। वर्दी लगाएका प्रहरी भए पनि उनीहरू पूर्ण रूपमा सिभिलियन जस्ता भइसकेका छन्। स्कुलमा उनीहरूको कुनै खास काम छैन, तर चाकरी र चाप्लुसीकै भरमा टिकेका छन्।”
फौजको नियम अनुसार आफ्नो माथिल्लो कमाण्डर र आदेशप्रति जिम्मेवार हुनुको सट्टा त्यहाँ कार्यरत सईहरू विद्यालयका प्राचार्य (प्रिन्सिपल) प्रति पूर्ण रूपमा बफादार र नतमस्तक देखिनुले प्रहरीको आन्तरिक अनुशासनको धज्जी उडाएको छ।
तत्कालीन आइजिपी बसन्त कुँवर सम्म सबुत प्रमाण सहितको सुचना पुग्दा त्यहाँ बाट हटाउँन आदेश दिएका थिए तर नेलाली काँग्रेस नेताको जोडबलमा २१ वर्ष देखि बसेका सईहरु जोगिएका थिए।

