हाकिम रिझाउन मर्यादा क्रम नै बिर्सेका पकाहा मैनपुरका अध्यक्ष मेहता: भड्किलो स्वागतको चौतर्फी आलोचना

  |

१७, असोज, २०८३
पर्सा! वीरगन्जको निर्वाचन क्षेत्र नं ३ को पकाहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता यतिबेला गम्भीर प्रशासनिक, नैतिक र कानुनी विवादमा तानिएका छन्।

सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो मर्यादा क्रम नबुझ्दा पालिका अध्यक्ष बारे अहिले सोसल मिडियामा ट्रोल बन्दै आएको देखिन्छ। गाउँपालिकामा हालै सरुवा भई आएका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहलाई गाउँपालिका कार्यालयमा फूलको माला सहित गरिएको अत्यधिक तामझामपूर्ण र भड्किलो स्वागतको तस्बिर सार्वजनिक भए पछि यसले सामाजिक सञ्जाल र स्थानीय स्तरमा चौतर्फी आलोचनाको रूप लिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको सञ्चालन, जवाफदेहिता र संस्थागत संरचना सम्बन्धी स्पष्ट नियम र परिधिहरू तोकिएकाे छ। सोही ऐन र नेपाल सरकारको आधिकारिक मर्यादा क्रम (Hierarchy) अनुसार गाउँपालिकाका निर्वाचित अध्यक्ष, पालिकाको प्रमुख प्रशासनिक पदमा रहने प्रमुख प्रशासकीय अधिकृत (निजामती कर्मचारी) भन्दा माथिल्लो ओहोदामा रहन्छन।

तर, पकाहा मैनपुर गाउँपालिकामा भने ऐन र मर्यादा क्रमको धज्जी उडाउँदै स्वयं गाउँपालिका अध्यक्ष सुरेश मेहता तथा कर्मचारीहरू द्वारा नयाँ सरूवा भई आएका प्रमुख प्रशासकीय अधिकृत हाकिमलाई रिझाउन अत्यधिक फुलमाला र खादा पहिराउने प्रतिस्पर्धामा उत्रिएका छन।

देशका बहालवाला प्रधानमन्त्री र मन्त्रीहरूले समेत अनावश्यक फूलमाला र भड्किला स्वागत कार्यक्रमहरूलाई निरुत्साहित गरिरहेका बेला स्थानीय सरकारका प्रमुख नै उभेर कर्मचारीका अगाडि देखाएको यस्तो ‘अनावश्यक तामझाम र चाकडी प्रवृत्ति’ प्रति वडाका सम्पुर्ण बौद्धिक व्यक्तिहरू तथा आम नागरिकहरुले आश्चर्य व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा खुलेरै विरोध जनाएका छन।

सूचनाको हकको धज्जी: लुकाइन्छ स्थायी र करार कर्मचारीको विवरण
यस गाउँपालिकामा नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले परिकल्पना गरेको पारदर्शी शासन व्यवस्था तथा सूचनाको हक (Right to Information) को ठाडो उल्लङ्घन भइरहेको छ। गाउँपालिकामा हाल कति जना स्थायी कर्मचारी कार्यरत छन् र कति जना करारमा नियुक्त गरिएका छन् भन्ने आधिकारिक विवरण बुझ्नका लागि मधेश भ्युज्ज डटकमले पटक–पटक प्रयास गर्दा पनि सूचना दिन आलटाल गरिएको छ।

गाउँपालिकाका सुचना अधिकारीले न त फोन उठाउँछन्, न त कार्यालय समयमा गाउँपालिकामा भेटिन्छन।

मधेश भ्युज्ज डटकम सडक संवाद कार्यक्रम प्रमुखको पटक–पटक गाउँपालि पुग्दा कार्यालय पुग्दा सूचना अधिकारी सधैँ कार्यालय बाहिर रहने गरेको पाइयो।

गाउँपालिका तथा सुचना अधिकारीले विवरण लुकाउनुको पछाडि ठूलो रहस्य रहेको स्रोतको दाबी छ। मधेश भ्युज्ज डटकम लाई प्राप्त विशेष सूचना अनुसार त्यहाँ राजनीतिक पहुँचका आधारमा भर्ना गरिएका केही यस्ता करारका कर्मचारीहरू छन्, जो एक दिन पनि कार्यालयमा काम गर्न आउँदैनन। तर महिना मरेपछि नियमित रूपमा सरकारी कोषबाट तलब खाइरहेका छन।

यसै बेथितिको आधिकारिक प्रमाण माग्दै मधेश भ्युज्जले लिखित रूपमै सूचना माग गरे पनि पालिका प्रशासनले सूचना लुकाएर बस्नुले यसमा ठूलो आर्थिक अनियमितता र मिलेमतो रहेको पुष्टि गर्छ। यति ठूलो बेथिति हुँदा पनि सम्बन्धित नियमनकारी निकायहरू भने रहस्यमय रूपमा मौन छन्।
कर्मचारीको ढिलासुस्ती र हाकिमहरूको अनियमितता
गाउँपालिका कार्यालयमा अन्य कर्मचारीहरू पनि समयमा नआउने र ढिलासुस्ती गर्ने समस्याले सेवाग्राही आजित भएका छन्। यसअघिका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) कहिले कार्यालय आउने त कहिले हप्तौँसम्म गायब भइदिने गर्नाले प्रशासनिक कामहरू ठप्प हुने गरेका थिए। अहिले तामझामका साथ स्वागत गरिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह पनि कार्यालयमा नियमित उपस्थित भएर नागरिकका काम गर्छन् कि पुराना हाकिम जस्तै कहिले आउने कहिले नआउने प्रवृत्ति दोहोर्‍याउँछन्, त्यो भने हेर्न बाँकी नै छ। मधेश भ्युज्ज डटकमले यसको निरन्तर निगरानी गरिरहनेछ।

बहुमत हुँदाहुँदै पनि नगर सभा गराउन नसकेको आरोप
अनावश्यक तामझाम र प्रशासनिक बेथितिको चर्को विरोध हुनुको अर्को कारण गाउँपालिकाभित्र विकास निर्माणका काम ठप्प हुनु हो। पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सबै वडाहरूमा नेपाली कांग्रेसकै जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। एउटै राजनीतिक दलको पूर्ण बहुमत (क्लिन स्वीप) हुँदाहुँदै पनि जनप्रतिनिधिहरू बीच आपसी तालमेल, समन्वय र राजनीतिक भागबन्डा नमिल्दा समयमै नगर सभा (गाउँ सभा) समेत हुन सकेको छैन। जसका कारण समग्र पालिकाको बजेट र नीतिगत निर्णयहरू नै अनिर्णयको बन्दी बनेका छन्।
शिक्षा, स्वास्थ्य र एम्बुलेन्स सेवा अस्तव्यस्त
गाउँपालिका मातहत रहेका आधारभूत सेवा क्षेत्रहरू चरम बेथितिको सिकार भएका छन्। स्थानीय विद्यालयहरूको शैक्षिक स्तर खस्कँदो छ भने स्वास्थ्य चौकीहरूमा सामान्य औषधोपचार र सेवा पाउन समेत नागरिकलाई सास्ती छ। अझ, आपत्कालीन अवस्थामा विपन्न नागरिकको जीवन रक्षाका लागि राखिएको सरकारी एम्बुलेन्स मर्मत सम्भार र सही व्यवस्थापनको अभावमा बेकामे भएर थन्किएको स्थानीयको आरोप छ।
योजनाहरूमा चरम लापरवाही: पाइप विनाका धारा र रित्ता ट्याङ्की
गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माणका योजनाहरूमा व्यापक लापरवाही र गुणस्तरहीनता देखिएको छ। खानेपानी र सरसफाइका नाममा कतिपय टोलमा धारा त जडान गरिएको छ तर त्यसमा भूमिगत पाइप नै जोडिएको छैन। कतिपय ठाउँमा विना योजना पानीका ट्याङ्कीहरू यत्तिकै अलपत्र अवस्थामा राखिएका छन्। योजनाका नाममा बजेट सक्ने तर नागरिकले त्यसको उपभोग गर्न नपाउने यस्ता हर्कतले सरकारी रकमको चरम दुरुपयोग भइरहेको प्रष्ट पार्छ।
पकाहा मैनपुरका आम नागरिकहरूले सामाजिक सञ्जाल र विभिन्न चौतारीहरूमा खुलेरै जनप्रतिनिधिहरूको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेका छन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि यी थुप्रिएका बेथिति र विवादहरूको निकास कसरी निस्कन्छ वा यो तामझाममै सीमित हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ।
गाउँपालिका भित्र विकाश निर्माणको कार्यको विरूद्ध केहि दिन अगाडी वडा नं ५ का आम नागरिकहरुले सड्कमा तयार बालेर प्रदर्शन गरेका थिए