समाचारको प्रभाव: पर्सा प्रहरीको क्राइम टोलीको गाडीमा पुनः झुन्डियो सरकारी नम्बर प्लेट

  |

वीरगन्ज, पर्सा ।
२५ असोज, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको अपराध अनुसन्धान शाखा (क्राइम टोली) ले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनको नम्बर प्लेट फेरबदलसम्बन्धी बेथितिमाथि मधेस भ्युज डटकम (madheshview.com) ले प्रकाशन गरेको खोजमूलक समाचारको ठूलो प्रभाव देखिएको छ। समाचार सार्वजनिक भएको केही दिनमै पर्सा प्रहरीले आफ्नो कार्यशैलीमा सुधार ल्याउँदै उक्त गाडीमा पुनः आधिकारिक सरकारी नम्बर प्लेट नै कायम गर्न कार्य व्यवस्था गरेको छ।
यसअघि गत २१ असोज २०८३ (बुधबार) का दिन मधेस भ्युज डटकमले ‘पर्सा प्रहरीको क्राइम गाडी: सरकारीलाई प्राइभेट बनाइयो, सुरक्षा संयन्त्र र सवारीसाधन व्यवस्थापनमाथि गम्भीर प्रश्न’ शीर्षकमा विशेष खोज रिपोर्ट सार्वजनिक गरेको थियो। समाचार सार्वजनिक भएलगत्तै चौतर्फी चासो र माथिल्लो निकायको निर्देशनपछि प्रहरीले उक्त गाडीको प्राइभेट (निजी) नम्बर प्लेट हटाई कानुनी रूपमै सरकारी नम्बर प्लेट झुन्ड्याएको हो।

कार्यक्षेत्रको आवश्यकता र नम्बर प्लेट फेरबदलको शृङ्खला

पर्सा जिल्लाको क्राइम टोलीका सदस्यहरू कार्यक्षेत्रमा सादा पोसाक (सिभिल ड्रेस) मा हिँड्ने र गम्भीर अपराधको अनुसन्धान गर्ने सिलसिलामा राज्यकोषबाट सञ्चालित सरकारी गाडीलाई निजी नम्बर प्लेट राखेर सञ्चालन गरिरहेका थिए। अनुसन्धानको आवरणमा कहिले सरकारी नम्बर प्लेटलाई निजी बनाउने त कहिले निजी गाडीलाई सरकारी बनाउने जस्ता प्राविधिक अभ्यास भइरहेको विवरण मधेस भ्युजले फेला पारेको थियो।
विशेष गरी क्राइम टोलीले चढ्ने बागमती प्रदेश ०१-००२ झ ८३५२ नम्बरको सरकारी स्कोर्पियो गाडीलाई निजी नम्बर प्लेट राखेर सञ्चालन गरिँदै आइएको थियो। सरकारी गाडीलाई निजी रूपमा रूपान्तरण गरेर सञ्चालन गर्दा त्यसको पारदर्शिता र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको थियो।

मधेस भ्युजको खोजको प्रभाव, नागरिक समाजद्वारा स्वागत

समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पर्साभित्र र मधेश प्रदेश प्रहरी मुख्यालयसम्म सकारात्मक दबाब बढेको थियो। मिडियामा प्रमाणसहित समाचार आएपछि कानुनी र नीतिगत दायरालाई मध्यनजर गर्दै पर्सा प्रहरीले तत्कालै बागमती प्रदेश ०१-००२ झ ८३५२ को सेतो पृष्ठभूमि (ब्याकग्राउन्ड) भएको सरकारी नम्बर प्लेट नै गाडीमा जडान गरेको छ।
समाचारको यो द्रुत र सकारात्मक प्रभावलाई पर्साका स्थानीय नागरिक समाज र सेवाग्राहीहरूले स्वागत गरेका छन्। आम नागरिकले भनेका छन्, “अनुसन्धानको नाममा भए पनि सरकारी सम्पत्तिको हुलिया लामो समयसम्म बदल्ने र कानुनी नियम उल्लंघन गर्ने छुट कसैलाई हुनु हुँदैन। ढिलै भए पनि प्रहरीले कानुनी स्रेस्तालाई मानेको छ, यसको श्रेय मधेस भ्युजको निष्पक्ष खबरदारीलाई जान्छ।”
मधेस भ्युज डटकम सधैँ सुशासन र राज्यका निकायहरूमा हुने बेथितिविरुद्ध प्रमाणसहित उभिने प्रतिबद्धता दोहोर्‍याउँछ। पर्सा प्रहरीको यो कानुनी सुधारले सञ्चारमाध्यमको खबरदारी र खोजमूलक पत्रकारिताको शक्तिलाई फेरि एकपटक प्रमाणित गरिदिएको छ।