महोत्तरी प्रहरी कार्यालय एक महिनादेखि डीएसपी विहीन, सेवाग्राही मर्कामा, ट्वॉइसी नहुँदा एसपीलाई सास्ती

  |

महोत्तरी, २७ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी विगत एक महिनाभन्दा बढी समयदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी) विहीन बनेको छ। कार्यालयमा कार्यरत तत्कालीन डीएसपी पंचलाल गोले संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा विदेश प्रस्थान गरेपछि रिक्त भएको उक्त महत्त्वपूर्ण पदमा प्रहरी प्रधान कार्यालयले हालसम्म प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाउन सकेको छैन।
प्रहरी नियमावली, २०७१ को परिच्छेद ५ अन्तर्गत नियम ४८ को खण्ड (ग) ले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी उपरीक्षक (एसपी) सम्मका सिनियर प्रहरी अधिकृतहरूको सरुवा तथा काज खटाउने एकल अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई सुम्पेको छ। नियमावलीले नै आईजीपीलाई यस्तो स्पष्ट प्रशासनिक अधिकार दिँदादिँदै पनि दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने र सुरक्षा संवेदनशीलता उच्च हुने महोत्तरी जस्तो जिल्लामा लामो समयदेखि डीएसपी नहुँदा दैनिक कार्यसम्पादन र शान्ति सुरक्षाको आन्तरिक व्यवस्थापनमा चुनौती थपिएको छ। कार्यालयमा ‘ट्वॉइसी’ (सेकेन्ड इन कमान्ड) को भूमिकामा रहने डीएसपी नहुँदा जिल्लाका मुख्य कमान्डर प्रहरी उपरीक्षक (एसपी) एक्लैलाई प्रशासनिक तथा शान्ति सुरक्षाको सम्पूर्ण भार थपिएर सास्ती खेप्नुपरेको छ।
विशेष गरी चाडबाडको बेला चोरी, डकैती, कुटपिट तथा अन्य आपराधिक घटनाहरू सल्बलाउने हुँदा उजुरी, मुद्दा, महिला तथा बालबालिका लगायतका प्राविधिक शाखाहरूमा पीडित सेवाग्राहीको चाप र भीड अत्यधिक हुने गर्दछ। जिल्ला प्रहरी कार्यालयमा एसपी मात्र उपलब्ध हुँदा र डीएसपीको दरबन्दी खाली रहँदा पीडित नागरिकका दैनिक समस्या तथा उजुरीहरू समयमै फछ्र्यौट हुन नसकेको व्यापक गुनासो बाहिरिएको थियो। यसै वस्तुस्थितिलाई मध्यनजर गर्दै ‘मधेस भ्यूज डट कम’ को टोलीले जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा पुगेर आफ्नो विशेष ‘सडक संवाद’ कार्यक्रम अन्तर्गत पीडित तथा सर्वसाधारण व्यक्तिहरूसँग गोप्य रूपमा कुराकानी गरेको थियो।
उक्त सडक संवादका क्रममा पीडित सेवाग्राहीले गोप्य रूपमा व्यक्त गरेका सास्ती, समस्या र मधेस भ्यूज डट कमद्वारा उठाइएका गम्भीर सवालहरूको तत्कालै सकारात्मक प्रभाव देखिएको छ। विदेश गइसक्नुभएका तत्कालीन डीएसपीकै नाम अझै पनि कार्यालयको ढोका र बोर्डमा ‘सूचना अधिकारी’ का रूपमा रहिरहेको तस्बिरसहित मधेस भ्यूज डट कमले ध्यानाकर्षण गराएपछि जिल्ला प्रहरी कार्यालयले उक्त बोर्ड हटाएको छ। हाल कार्यालयले आफ्नो आन्तरिक व्यवस्थापन मिलाउँदै एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निमित्त सूचना अधिकारीको जिम्मेवारी तोकेको छ।
देशभरि हाल प्रहरीको नियमित सरुवा रोकिएको बताइए तापनि अन्य क्षेत्रका इलाका तहमा भने प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार द्रुत गतिमा इन्स्पेक्टरहरू खटाउने गरेको पाइएको छ। केही समयअघि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली (पर्सा) मा इन्स्पेक्टर तानिएलगत्तै हेडक्वार्टरले तत्कालै अर्को नेतृत्व पठाएको थियो। त्यसैगरी, इलाका प्रहरी कार्यालय ढल्केबर (धनुषा) मा कार्यरत इन्स्पेक्टर आचरण विपरीत कार्यमा मुछिएपछि उनलाई तुरुन्तै जिम्मेवारीबाट हटाएर नयाँ इन्स्पेक्टर पठाउन प्रहरी प्रधान कार्यालयले तदारुकता देखाएको थियो।
तर, इलाका तहमा तुरुन्तै प्रहरी अधिकारी पठाउन सक्ने हेडक्वार्टरले चाडबाडको मुखमा जिल्लाकै मुख्य कमान्ड र समन्वय सम्हाल्ने महोत्तरी जस्तो संवेदनशील क्षेत्रमा महिना दिन बितिसक्दा पनि नयाँ डीएसपी पठाउन नसक्नुको कारण खोज्दै स्थानीय वृत्तमा विभिन्न कोणबाट चिया-चर्चा र संशय सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयमा डीएसपी नहुँदा शान्ति सुरक्षाको विशेष योजना निर्माण, मुद्दा अनुसन्धान र पीडित नागरिकका गुनासाहरू सुनुवाइ गर्ने प्रक्रियामा प्रत्यक्ष असर परिरहेको छ, जसको मारमा दूरदराजबाट आउने सर्वसाधारण सेवाग्राही परेका छन्।