बिहीबार १९,२०८०
उदेश पाण्डे !
रौतहट — रौतहट प्रहरीले १८ लाख रुपैयाँ भन्दा बढी नेपाली नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट १८ लाख ४३ हजार रुपैयाको नक्कली नोट सहित पक्राउ गरेको हो ।
जयसवाललाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले नक्कली नोटको गिरोह सक्रिय छ भन्ने पूर्वसूचनाका आधारमा चेकजाँच गर्दा जयसवाल नक्कली नोटसहित पक्राउ परेका जानकारी दिए ।
‘जिल्लामा नक्कली नोटको गिरोह सक्रिय छ भन्ने पहिला नै सुचना पाएको थियौँ । रातभर सर्च अप्रेसन गरे पछि पक्रन सफल भएका हौँ, ‘ उनलेभने, ‘नक्कली नोट कहाँबाट ल्याएको भन्ने खुल्न बाँकी छ ।’
एसपी श्रेष्ठका अनुसार राति पटेल चोकमा सवारी चेकजाँचको क्रममा जयसवालको साथबाट प्रहरीले १ हजार ८ सय ४३ थान १ हजारको नक्कली नोट बरामद गरेको थियो । केही महिना देखि जिल्लाको विभिन्न बजारहरुमा नक्कली नोट बरामद हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो ।
नक्कली नोट सहित पक्राउ परेका जयसवाललाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान तथा कारवाही बघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको छ ।
यसअघि प्रहरीको टोलीले गरुडा नगरपालिकाको शिवनगरस्थित मेलाबाट भारतीय नोट सहित चार जना, गरुडा नगरपालिका–४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरको २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो ।