मलङ्गवा, सर्लाही
कात्तिक ३, २०८३ (सोमबार) | समय: बिहान ०८:४५ बजे
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेको इलाका प्रहरी कार्यालय हरिवनमा विगत ३ वर्षदेखि प्रहरी हवल्दार दिनेश यादव एउटै युनिटमा कार्यरत रहेको खबर प्राप्त भएको छ।
प्रहरी कर्मचारीहरूको नियमित सरुवा तथा पदस्थापनका लागि प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख गोविन्द थपलियाले तयार पारेको ‘प्रहरी मापदण्ड २०८२’ लाई लत्याउँदै सर्लाही प्रहरीमा चरम नीतिगत बेथिति मौलाएको पाइएको छ।
उक्त मापदण्डमा प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा बढी सीमानाकामा नखटाइने, कुनै पनि प्रहरी कर्मचारीलाई एउटै कार्यालयमा लामो समय नराखिने र ‘क’ श्रेणीका चौकीमा बसेका व्यक्तिलाई पुनः ‘क’ वर्गकै चौकीमा पठाउन नपाइने स्पष्ट व्यवस्था छ। तर, यी मापदण्डहरूलाई पूर्ण रूपमा उल्लङ्घन गर्दै इलाका प्रहरी कार्यालय, हरिवनमा कार्यरत प्रहरी हवल्दार दिनेश राय यादव विगत ३ वर्षदेखि लगातार एउटै युनिटमा ‘घुमुवा प्रहरी’ (सादा पोसाकको विशेष टोली) का रूपमा कार्यरत रहँदासमेत उनलाई नहटाउनुले हरिवन प्रहरी र जिल्ला नेतृत्वको मिलेमतोलाई छताछुल्ल पारेको छ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ६, हरैया पल्टुवाका स्थानीय बासिन्दा रहेका हवल्दार यादव लामो समयदेखि हरिवनमा जमेका कारण पटक-पटक गम्भीर विवादमा मुछिएका छन्। तर, हरिवनका कार्यालय प्रमुखको विशेष संरक्षणका कारण उनलाई शक्ति केन्द्रको आडमा सोही स्थानमा थमौती गरिँदै आएको छ। यसले गर्दा इमानदार प्रहरी कर्मचारीहरूको मनोबल पूर्ण रूपमा खस्किएको छ।
तीन वर्षे थमौतीबारे एसपी र इन्स्पेक्टरको प्रतिक्रिया
तीन वर्षदेखि लगातार एउटै कार्यालयमा एकै हवल्दार घुमुवाका रूपमा बसिरहँदा अनेकौँ शङ्का र प्रश्नहरू सिर्जना भएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) सँग बुझ्दा उहाँले — “यस विषयमा के भएको रहेछ, मैले बुझेर हेर्नुपर्छ” भनी प्रतिक्रिया दिनुभयो।
यता इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख (इन्स्पेक्टर) सँग कुरा गर्दा उहाँले भने — “आवश्यकता अनुसार नै उहाँलाई राखिएको हो” भन्दै बचाउ गर्नुभयो।
तस्करी, अवैध क्रसर र नदी दोहनमा नेतृत्व मौन
घुमुवा हवल्दार यादवको यही तीन वर्षे लामो सिन्डिकेटका कारण हरिवन र आसपासका क्षेत्रमा अवैध धन्धाहरूले प्रश्रय पाएका छन्। छिमेकी बरहथवा तर्फबाट भित्रिने विभिन्न तस्करीका मालसामानहरू— किराना, कपडा, अवैध गुट्खा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न र पक्रन हरिवन प्रहरी पूर्ण रूपमा असफल साबित भएको छ।
यसका साथै, हरिवन प्रहरीले आफ्नो मातहत पर्ने बजार क्षेत्रका होटल सञ्चालनमा कानुनी एकरूपता ल्याउन सकेको छैन। होटलहरूको आवरणमा हुने अनैतिक गतिविधि र अवैध नदीजन्य पदार्थको दोहन तीव्र रूपमा बढेको छ। स्थानीय नदीखोलाहरूबाट हुने अवैध गिट्टी-बालुवा उत्खनन, क्रसर उद्योगहरूको मनपरी र मातहतको इलाका प्रहरी कार्यालय कर्मैयाको क्षेत्रमा समेत व्यापक बेथितिको जनगुनासो आउँदा समेत हरिवनका इन्स्पेक्टर (कार्यालय प्रमुख) ले कुनै ठोस कदम नचाल्नुले उनको भूमिकासमेत शङ्काको घेरामा परेको छ।
दोहोरो मापदण्डप्रति नागरिक समाजको असन्तुष्टि
सर्वसाधारणका सानातिना घरायसी सामानमा सास्ती दिने तर सेटिङका आधारमा चल्ने क्रसर डन, तस्कर र पहुँचवालाहरूका अगाडि लाचार बन्ने हरिवन र कर्मैया प्रहरीको यो दोहोरो मापदण्डप्रति स्थानीय नागरिक समाजले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
विवादित छविका हवल्दार यादवलाई तत्काल जिल्ला तानी ३ वर्षे कार्यकालको आर्थिक चलखेलमाथि निष्पक्ष छानबिन नगरे मधेश प्रदेश प्रहरी कार्यालयको सुशासनको नारा केवल कागजमै सीमित हुने स्थानीय सरोकारवालाहरूको भनाइ

