जनकपुरधाम
शनिबार, १ कात्तिक २०८३
मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्नै सङ्गठनको निर्देशिका एवं कार्यविधिलाई लत्याउँदै आकर्षक प्रहरी चौकीहरूमा ‘पहुँचवाला’ र विवादित वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) हरूलाई लामो समयदेखि थमौती गरेको पाइएको छ। तत्कालीन मधेस प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाको कार्यकालमा निर्माण गरिएको ‘प्रहरी कार्यविधि २०८२’ को धज्जी उडाउँदै धनुषाका सीमावर्ती र आकर्षक चौकीहरूमा वरिष्ठ सईहरूको रजाइँ चल्दा समेत प्रदेश प्रहरी प्रमुख डीआईजी र जिल्ला प्रहरी प्रमुख मौन बसेका छन्।
कार्यविधिमा क वर्गका इलाकामा खटिसकेका वा काम गरिसकेका प्रहरी अधिकृतहरूलाई पुनः सोही वर्गको आकर्षक इलाकामा जान नदिने र सीमा नाकामा ६ महिनाभन्दा बढी बस्न नदिने प्रस्ट व्यवस्था छ। तर, धनुषामा भने विगतमा विभिन्न जिल्लाका ‘कमाउ’ चौकीहरू घुमिसकेका सिपालु सईहरूले नीति विपरीत महिनौँदेखि अखडा जमाएर बसेका छन्।
कार्यविधि मिचेर धनुषामा राज गरिरहेका वरिष्ठ सईहरू:
• वरिष्ठ सई हिमाल भण्डारी (प्रहरी चौकी, इनर्वा – धनुषा): ७ महिना इलाका प्रहरी कार्यालय औरहीको इन्चार्ज बनेका भण्डारी कार्यविधि विपरीत फेरि ७ महिनादेखि सीमा प्रहरी चौकी इनर्वामा कार्यरत छन्। सीमा क्षेत्रमा ६ महिनाभन्दा बढी राख्न नपाइने नियम हुँदाहुँदै उनलाई शक्ति केन्द्रकै आडमा टिकाइएको छ।भण्डारीको विगत निकै विवादित रहँदै आएको छ। केही वर्ष पहिला नेपाली कांग्रेसको सत्ता हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको सबैभन्दा आकर्षक मानिने सीमा प्रहरी चौकी इनर्वा मा बस्दा भण्डारीकै कमान्डका प्रहरीले भन्सार कर्मचारीमाथि बर्बर कुटपिट गरेका थिए। उक्त चर्चित काण्डमा चौतर्फी विरोध भए पनि पर्साका तत्कालीन एसपी ले नेपाली कांग्रेसका नेताहरूको पावर र ओभर फोनका भरमा भण्डारीलाई कारबाही हुनबाट जोगाएका थिए। सो घटनामा एकजना हवल्दारलाई मात्र बलिको बोको बनाएर विभागीय कारबाही गरियो भने मुख्य जिम्मेवार सई भण्डारीलाई राजनीतिक आडमा उन्मुक्ति दिइएको थियो। यसबाहेक, जिल्ला प्रहरी कार्यालय सर्लाही का विभिन्न आकर्षक चौकीहरूमा बस्दा समेत भण्डारी विभिन्न आर्थिक तथा नीतिगत घटनाहरूमा मुछिएका थिए।
• वरिष्ठ सई मोहनमणि कटुवाल (प्रहरी चौकी, जानकी): विगतमा बारा र सर्लाही जिल्लाका आकर्षक चौकीहरूमा बसेर ‘कमाउ सई’ को पहिचान बनाएका कटुवाल विगत ८ महिनादेखि जानकी चौकीको इन्चार्जका रूपमा निरन्तर कार्यरत छन्।
• वरिष्ठ सई रमन पण्डित (प्रहरी चौकी, जिरो माइल): बारा जिल्ला मातहतका विभिन्न ‘क’ श्रेणीका चौकीहरूमा बस्दै आएका पण्डित विगत ८ महिनादेखि जिरो माइल जस्तो व्यस्त र रणनीतिक चोकको कमान्ड सम्हालिरहेका छन्।
• वरिष्ठ सई जितेन्द्र चौधरी (वडा प्रहरी कार्यालय, मुजेलिया): धनुषा जिल्ला आएको १ वर्ष पुगेका चौधरी विगत १० महिनादेखि मुजेलियामा इन्चार्ज छन्।
रवानामा विभेद र औरहीमा धनबहादुर खड्काको इन्ट्री
जिल्ला प्रहरी कार्यालय धनुषाले सरुवाको सवालमा समेत दोहोरो र पक्षपातपूर्ण मापदण्ड अपनाएको प्रहरी स्रोत बताउँछ। अन्य प्रहरीहरूको सरुवा हुनासाथ तत्काल रवाना दिएर पठाउने जिप्रका धनुषाले सरुवा भइसकेका सई धनबहादुर खड्कालाई भने इप्रका औरहीमा खटाएको छ। पहुँच हुनेलाई नियम विपरीत थमौती गर्ने र पहुँच नहुनेलाई तत्काल लखेट्ने नीति धनुषा प्रहरीले अपनाएको तल्लो तहका कर्मचारीहरूको गुनासो छ।
‘मधेस भ्युज’ को विशेष खुलासा: हाकिमलाई गुमराहमा पारेर सईहरूको समान्तर सरकार!
यसै बेथिति र राजनीतिक/आर्थिक चलखेलका बिच, मधेस भ्युज डट कम (MadheshViews.com) लाई नाम गोप्य राख्ने सर्तमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एकजना प्रहरी कर्मचारीले भित्रको डरलाग्दो नालीबेली खोलेका छन्।
ती प्रहरी कर्मचारीका अनुसार, धनुषा जिल्लाका यी सबै ‘कमाउ’ चौकीका इन्चार्ज सईहरूको एउटा छुट्टै र बलियो आन्तरिक सेटिङ चलिरहेको छ। “यिनीहरूको ब्याजी (एकै ब्याचका) लेखा शाखामा बसेका छन्, जसले यिनीहरूलाई भित्रैबाट पाल्ने र संरक्षण गर्ने काम गर्छन्,” स्रोतले भन्यो, “यी सईहरूको पर्सनल रूपमा गोप्य मिटिङ चल्छ र यिनीहरूले जिल्लाका मुख्य हाकिम (एसपी) लाई समेत गुमराहमा पारेर जिल्लालाई आफ्नै पाराले चलाइरहेका छन्। यिनीहरूको पावर सेन्टरको एउटा छुट्टै रहस्यमयी कहानी छ, जसको विस्तृत विवरण हामी चाँडै मधेस भ्युज डट कम मार्फत सार्वजनिक गर्दै छौँ।”
जुनियर अधिकृतहरू पीडामा: चौकी जानु ‘सपना’ जस्तै!
यो सिन्डिकेटका कारण जिल्ला प्रहरी कार्यालय धनुषाभित्र अहिले अन्य जुनियर प्रहरी अधिकृतहरूका लागि चौकीको इन्चार्ज भएर जानु एउटा ‘सपना’ जस्तै बनेको छ। सामान्यतया हेडक्वार्टरले साना दर्जाका प्रहरी र अन्य कर्मचारीहरूको एकै वर्षमा सरुवा गरिदिन्छ। तर, धनुषामा पहुँचवालाहरू एक वर्षभन्दा बढी समयदेखि एउटै आकर्षक चौकीमा रजाइँ गरिरहँदा अन्य जुनियर अधिकृतहरूले पालो कहिले पाउने? भन्ने प्रश्न उठेको छ। जसका कारण इमानदार जुनियर अधिकृतहरू ठुलो मानसिक पीडामा छन्।
यिनीहरूको शक्तिको धाक यतिसम्म छ कि जिल्ला भित्र कसैले यिनीहरूको विकृति विरुद्ध कुरा मात्र उठायो भने पनि उसलाई तत्काल दुर्गममा लखेट्न लगाउने, अथवा सजाय स्वरूप ‘ट्वाइसी’ (2IC – सेकेन्ड इन कमान्ड) मा खटाएर जिम्मेवारीविहीन बनाइदिने हर्कत भइरहेको छ।
ढल्केबर काण्ड र प्रदेश प्रहरीको दोहोरो मापदण्ड
जिप्रका धनुषा मातहतकै इलाका प्रहरी कार्यालय ढल्केबर मा केही महिना अगाडि सिआरएस (CRS) रिपोर्ट नै नहेरी एउटा ठगी आरोप लागेको व्यक्तिलाई उन्मुक्ति दिन खोज्दा त्यहाँका इन्स्पेक्टरलाई तत्काल तानिएको थियो। धनुषाका अन्य इन्स्पेक्टरहरूको पनि आचरण विपरीतका थुप्रै कार्यहरू मिडियामा आइसकेका छन्। तर, यस्ता गम्भीर गल्तीहरूमा मधेस प्रदेश प्रहरी कार्यालयले जसरी तीव्र रूपमा छानबिन गर्नुपर्ने थियो, त्यो कतै देखिएको छैन।
तल्लो तहका सिपाही र हवल्दार विरुद्ध सामान्य उजुरी पर्नासाथ तत्काल हेडक्वार्टर झिकाएर डन्डा चलाउने प्रदेश प्रहरी कार्यालयले यी वरिष्ठ सईहरूको हकमा भने लाचारी प्रदर्शन गरेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यति धेरै प्रमाण र विवरणहरू आउँदा समेत डीआईजी कार्यालय र जिल्ला नेतृत्वले कुनै सुनुवाइ नगरेको भन्दै धनुषा प्रहरीका इमानदार कर्मचारीहरूले गम्भीर दुःख र आक्रोश पोखेका छन।

