कडा सुरक्षाबीच प्रमुख प्रशासकीय अधिकृत हाजिर भए

  |

पुस ८, २०८०
उदेश पाण्डे
रौतहट — रौतहटको यमुनामाई गाउँपालिकाका विवादित निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् ।
कडा सुरक्षाबीच उनी गाउँपालिकामा हाजिर भएका हुन् । उनलाई हाजिर गर्न नदिने भन्दै महिलासहित स्थानीय गाउँपालिका प्रवेशद्वारमा जम्मा भएका थिए । स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते जिल्ला समन्वय समिति रौतहटका शाखा अधिकृत यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि विवाद बढेको थियो । गाउँपालिकामै कार्यरत कविराज सातौं तहका कर्मचारी राम श्रेष्ठलाई मन्त्रालयले मंसिर १३ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । उनको जिम्मेवारी ८ दिनमै खोसेर मन्त्रालयले यादवलाई अधिकृत तोकेपछि विवाद बढेको हो । आफूलाई हाजिर गराउने छाँटकाँट नदेखेपछि उनले पुस ३ गते उच्च अदालत वीरगन्जमा मुद्दा दिएका थिए । अदालतले उनलाई हाजिर गराउन अन्तरिम आदेश गरेको थियो । त्यसपछि आइतबार कडा सुरक्षाबीच हाजिर भएका हुन्।

गाउँपालिकाका अध्यक्ष मोहम्मद साउदले कामकाज गराउन असमर्थ रहेकोले हाजिर गराउन नसक्ने भन्दै यादवलाई फिर्ता पठाएको संघीय मन्त्रालयलाई जानकारीपत्र पठाएका थिए । अध्यक्ष साउदले नै उनलाई हाजिर गराएका हुन् ।

अध्यक्ष साउदले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराइएको जानकारी दिए । यो नगरपालिकामा बितेको एक वर्षमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
तराईमा चरम राजनितीकको कारण अधिकृत सरुवा हुनेगरेको छ।