२५ बुधबार २०८०
उदेश पाण्डे
गोरखा — कर्तव्य ज्यानको अभियोगमा गोरखा नगरपालिका–१४ सलाङगिरिका २३ वर्षीय किसान परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय शमशेरबाबु पन्त पुस १६ गते आफ्नै होटलमा मृत अवस्थामा भेटिएका थिए । गोरखा–१४ स्थित अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गर्दै आएका पन्तको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मृतक पन्तको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको चोट देखिएको थियो । घटना अनुसन्धानको क्रममा व्यक्तिगत रिसिइबीका कारण परियारले कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसिइबीको कारण मृतकलाई खुर्पा तथा चक्कुले शरीरका विभिन्न भागहरुमा पटक/पटक प्रहार गरी परियार फरार भएको खुल्न आएको हो । फरार परियारलाई पुस २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको सहयोगमा कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।
आरोपित परियार घटनापश्चात् केही दिन गोरखा–१२ स्थित आफन्तको घरमा लुकीछिपि बस्दै आएका थिए । त्यसपछि उनी काठमाडौं पुगेको अनुसन्धानको क्रममा खुल्न आएको एसपी श्रेष्ठले बताए ।
‘मृतक पन्तको मोबाइलसमेत परियारले ल्याएर खाल्डो खनेर गाडेका रहेछन्, घटना हुँदा प्रयोग खुर्पा र चक्कु पनि आरोपितले भनेबमोजिम खोजी गर्दा अकला मन्दिर नजिकैको जंगलमा भेटियो,’ उनले भने ।
आरोपितविरुद्ध बुधबार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप लिइएको पनि प्रहरीले जनाएको छ ।