सेवाग्राहीसँग ‘शुक्रबार कार्यक्रम’ सार्वजनिक सेवा प्रवाह नागरिक मैत्री बनाउने

१५, जेष्ठ, २०८१
उदेस पाण्डे
मानिकपुर! सरकारले सूचना प्रविधको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई मुहाररहित, कागजरहित र सम्पर्करहित बनाउने घोषणा गरेको छ । यसका साथै सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र कार्य सम्पादन सुधारका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालन गरिने अर्थमन्त्री वर्षमान पुनले बताए ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै मन्त्री पुनले ई-गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने बताएका हुन् ।

‘सेवाग्राही र सेवा प्रदायकबीच नियमित संवादमार्फत सम्पादित कामको विषयमा सेवाग्राहीको पृष्ठपोषण लिन, गुनासाको तत्काल सम्बोधन गर्न र कार्य सम्पादनमा सुधार ल्याउन सेवाग्राहीसँग शुक्रबार कार्यक्रम सञ्चासलन गरिनेछ,’ उनले भने, ‘ई-गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई मुहाररहित, कागजरहितर सम्पर्करहित बनाई गुणस्तर अभिवृद्धि गरिनेछ ।’

यसका साथै, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने उनले बताए । ‘भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक,निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिनेछ,’ मन्त्री पुनले भने ।