
अषाढ़ ०२, आइतबार २०८१
उदेस पाण्डे
बीरगंज / बिगत १७ बर्ष देखि अतिक्रमणमा परेको धार्मिक महत्व बोकेको सार्वजनिक पोखरी शनिबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुशालले अतिक्रमण मुक्त गराएका छन् I पर्साको कलिकामाई गाऊँपालिका वडा नं. २ को टोल गदियानी स्थित सो पोखरी पूरी निर्माण गरिएको घर नेपाल प्रहरीले वडा कार्यालयको सहयोगमा भत्काएर पुनः पोखरी कायम गरेको छ I
तत्कालीन माओवादी नेता तथा भूमि सुधार मंत्री प्रभु साहको बलमा उनका नातेदारले घर छेउमै रहेको सो पोखरी पूरी परिवार कै सदस्यहरुलाई पदाधिकारी बनाई खड़ा गरिएको (झोले) ब्रिलिएंट युवा क्लबको नाममा पक्की भवन बनाउन सफल भएका थिए I गाऊँमा रहेको त्यती बेलाको सर्वदलीय संयंत्रले पोखरी अतिक्रमण हुन न दिने निर्णय गरे पनि बल्जफ्ती बनाईएको सो भवन भत्काउन गाऊँले अदालत पुगेका थिए I मुद्दाको अंतिम किनारा लगाउदै सर्वोच्च अदालतले घर भत्काई पुनः पोखरी कायम गर्ने निर्णय गरेको थियो I सर्वोच्च को फैसला पछी पनि सो पोखरी अतिक्रमण मुक्त नभए पछि स्थानीय स्तरमा चंदा संकलन गरी सर्वोच्च सम्म लडेका स्थानीय नागरिकले पुनः चंदा संकलन गरी सर्वोच्चको निर्णय कार्यान्वयनका लागी पर्सा जिल्ला अदालतमा चलन चलाऊको मुद्दा दायर गरेका थिए I
जिल्ला अदालतमा चलन चलाऊ को मुद्दा परे पश्चात कानुनको आँखामा छारो हान्न अतिक्रमण गर्ने ब्यक्तिले अर्को युक्ति अपनाएका थिए I कलिका माई गाऊं पालिकाका अध्यक्ष बसिष्ठ गुप्ताका काका कुख्यात दुइ नम्बर कारोबारी दिनेश कलवार संग नजिक रहेका अतिक्रमण गर्ने छठू साह ले सो घर पालिका लाई हस्तान्तरण भई सकेको र सो घरमा पशु अस्पताल चलाउने भनेर एउटा गैर क़ानूनी निर्णय पालिका बाट खड़ा गराइ अदालतलाई झुक्याउने कोशिश समेत गर्न भ्याएका थिए I तर, पर्सा जिल्ला अदालतले पालिका को निर्णय सहित को पत्र लाई खारिज गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा लाई पत्र पठाए पछी प्रमुख जिल्ला अधिकारीले सो घर भत्काई पोखरी कायम गर्न लगाएका हुन् I
सर्वोच्चको आदेश कायम गराउन बिहान पुगेको प्रहरी टोली माथि आफ्नो खानदान का महिलाहरु मार्फ़त ढुंगा प्रहार गर्न लगाए पछि प्रहरीले क्लबका अध्यक्ष भनिएका छठु साह (हाल पकाहा मैनपुर गाऊंपालिकाको कार्यालय सहयोगी) सहित दुई जनालाई नियंत्रणमा लिएको छ I पालिका लाई हस्तांतरण गरी सकिएको भनिएको सो भवन वडा कार्यालयको सहयोगमा प्रहरीले भात्काए पछि त्यसको इंट आफुहरूले पाउनु पर्ने छठू साहका परिवारजनले केहिबेर बिवाद समेत गरेका थिए I तर प्रहरीले त्यहाँको इंट लगायत का सरसामान छेऊ मै रहेको सार्वजनिक मंदिरमा राखी वडा अध्यक्ष सोनालाल चौरसिया को जिम्मा लगाएको छI