मलङ्गवा, सर्लाही
८ कात्तिक २०८३, शनिबार
सर्लाही जिल्लाका ग्रामीण क्षेत्रहरूमा सुरक्षा गस्ती पर्याप्त नहुँदा चोरीका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन्। पछिल्लो समय ग्रामीण भेगका आम नागरिकहरू असुरक्षाका कारण डर र त्रासमा बाँच्न विवश छन्।
यसैक्रममा जिल्लाको बलरा नगरपालिका वडा नम्बर १० स्थित सुदामा गाउँबाट मिति २०८३ साल कात्तिक ५ गते राति अन्दाजी १२:०० बजेको समयमा स्थानीय अर्जुन शाहको बजाज पल्सर १६० एफआई एनएस (Pulsar 160 FI NS) मोटरसाइकल चोरी भएको छ। उक्त मोटरसाइकल शाहले आफ्नै घरको पार्किङमा राखेको अवस्थामा अज्ञात समूहले चोरेर फरार भएको हो।
चोरी भएको मोटरसाइकलको विस्तृत विवरण:
• सवारी धनी: अर्जुन शाह (सम्पर्क नम्बर: ९८४४९९४१०२)
• सवारी नम्बर: मधेश प्रदेश ०३-०३४ प ७२७७ (म.प्र. ०३-०३४ प ७२७७)
• सवारीको मोडल: Pulsar 160 FI NS (२०२४ मोडल)
• चेसिस नम्बर: MD2A92CX7RCE89469
• इन्जिन नम्बर: JEXCRD76329
• रङ: Ebony Black Stain Red (कालो र रातो)
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत पर्ने विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूले ग्रामीण क्षेत्रतिर गस्तीमा तदारुकता नदेखाउँदा सदरमुकामभन्दा टाढा रहेका गाउँघर असुरक्षित बनेका छन्। विशेष गरी अहिले दशैँ तथा तिहार जस्ता महान् चाडबाडको समयमा गाउँघरमा विभिन्न ठाउँहरूबाट अपरिचित र नयाँ मानिसहरूको आवतजावत बढेको छ। प्रहरीको फितलो उपस्थितिको फाइदा उठाउँदै विभिन्न स्थानमा मोटरसाइकल चोरी हुने, अनावश्यक झै-झगडा बढ्ने र ठाउँ-ठाउँमा जुवातास खेल्ने जस्ता विकृति र आपराधिक घटनाहरूमा निकै वृद्धि भएको स्थानीय बासिन्दाहरूको गुनासो छ।
यस घटनाका सम्बन्धमा मधेस भ्युज डटकमको ‘सडक संवाद’ को मोबाइल नम्बर ९८५५०४८९५४ बाट आज शनिबार बुझ्न खोज्दा बलरा प्रहरी चौकीको सरकारी नम्बरमा फोन उठेन। त्यसपछि इलाका प्रहरी कार्यालय, गल्हैया, डुमरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश चौधरीसँग कुरा गर्दा उनले चोरी भएको मोटरसाइकलको खोजी कार्यका लागि प्रहरी टोली खटाइएको जानकारी दिए। प्रहरी निरीक्षक चौधरीका अनुसार आवश्यक कानुनी प्रक्रियाहरू अगाडि बढिसकेको र हतियोल लगायतका क्षेत्रहरूमा समेत खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
“गाउँघरतिर रातिको समयमा प्रहरीको गस्तीमा कुनै तदारुकता देखिँदैन, सानातिना चोरी वा झै-झगडा र जुवातास भइरहँदा खबर गरे पनि प्रहरी समयमा आइपुग्दैन,” एक स्थानीयले आक्रोश पोखे, “अहिले त घरकै पार्किङमा राखेको बाइक समेत सुरक्षित नहुने र राति ढुक्कसँग सुत्न पनि डर लाग्ने स्थिति भइसकेको छ। चाडबाडको बेला सुरक्षा बढ्नुपर्नेमा झन् खुकुलो भएको छ।”
चोरी, जुवातास र असुरक्षा बढेपछि स्थानीय बासिन्दाहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग मातहतका सबै प्रहरी युनिटहरूलाई तत्काल सक्रिय बनाउन, ग्रामीण क्षेत्रहरूमा गस्ती बढाउन, विकृति नियन्त्रण गर्न र घटना हुनासाथ प्रहरी तुरुन्त पुग्ने व्यवस्था मिलाउन जोडदार माग गरेका छन्।
विशेष अपील:
उल्लेखित म.प्र. ०३-०३४ प ७२७७ नम्बरको एनएस पल्सर मोटरसाइकल कतै देखिएमा, फेला परेमा वा कसैले शंकास्पद रूपमा बिक्री गर्न लागेको थाहा पाएमा तुरुन्तै नजिकैको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गल्हैया (डुमरिया), जिल्ला प्रहरी कार्यालय सर्लाही वा सवारी धनी अर्जुन शाहको मोबाइल नम्बर ९८४४९९४१०२ मा सम्पर्क गरी बुझाइदिनुहुन विनम्र अनुरोध गरिन्छ।

