जनकपुरधाम (धनुषा), कात्तिक १०, २०८३ (मंगलबार)
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका क्षेत्रहरू सहित समग्र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा कानुन कार्यान्वयन गराउने क्रममा प्रहरी प्रशासनले गम्भीर चुनौतीको सामना गर्नु परिरहेको छ। कतिपय राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा व्यक्तिहरूले आफ्नो निहित स्वार्थ र नियमविपरीतका काम गराउन प्रहरीलाई दबाब दिने र प्रहरीले कानुनसम्मत ढंगले काम गर्दै त्यस्ता नाजायज माग अस्वीकार गर्दा झुटो लाञ्छना लगाउने प्रवृत्ति पछिल्लो समय निकै मौलाएको छ। यसै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्का विरुद्ध एउटा कार्यक्रममा अत्यन्तै आपत्तिजनक, कपोलकल्पित र स्तरहीन टिप्पणी गरिएको घटना सार्वजनिक भएपछि यसले नयाँ मोड लिएको छ।
नियमविपरीत काम नगर्दा एसपीमाथि प्रतिशोध
जिल्ला प्रहरी कार्यालय धनुषा (मिडिया समन्वय शाखा) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गत कात्तिक ८ गते धनुषाको हंसपुर नगरपालिका वडा नम्बर-८, भतही टोल बस्ने ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा र कार्यालय प्रमुख एसपी रूपेश खड्काको नामै लिएर भ्रामक एवं अपमानजनक टिप्पणी गरेका थिए।
वास्तविकता बुझ्दा, लक्ष्मेश्वर यादवले आफ्नो परिवारकी एक महिला सदस्य हराएको भनी गत भदौ १७ गते खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीले अनुसन्धान गर्दा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट विवाहको नाता कायम गरी भदौ १४ गते नै आफ्नै पतिसँग गएको खुलेको थियो। प्रहरीले उक्त यथार्थ र विवाहका प्रमाणहरू बुझाउँदा समेत यादवले “आफ्नो मञ्जुरीबिना विवाह गरेको हुँदा निजहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिनुपर्ने” भन्दै एसपी खड्का र प्रहरी प्रशासनलाई नियमविपरीत काम गर्न अनुचित दबाब दिएका थिए। प्रहरीले कानुनी दायराभन्दा बाहिर गएर काम गर्न इन्कार गरेपछि प्रतिशोध साध्नकै लागि मानिसहरू उचालेर प्रहरी कार्यालय घेर्ने धम्की दिने र व्यक्तिगत मर्यादामा आँच आउने गरी अनर्गल आरोप लगाइएको स्पष्ट भएको छ।
जनप्रतिनिधि र दलहरूको दबाब तथा प्रभाव
यो घटना प्रतिनिधिमूलक मात्र हो। मधेश प्रदेशका जिल्लाहरूमा जनप्रतिनिधिहरू र राजनीतिक दलका नेताहरू प्रायः प्रहरी कार्यालयमा कानुनी प्रक्रियालाई प्रभावित पार्न पुग्ने गरेका छन्। आफ्नो पकड र प्रभाव देखाउन प्रहरीलाई नियमविपरीतका काम गर्न दबाब दिने र प्रहरीले कानुनी अडान राख्दा चौतर्फी घेराबन्दी गर्ने खराब संस्कृति हुर्किँदै गएको छ। अचम्मको कुरा त, राजनीतिमा विधिको शासन र नयाँ सोचको नारा दिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दल आबद्ध कतिपय व्यक्तिहरू समेत प्रहरी प्रशासनलाई खुला रूपमा धम्क्याउने र दबाब दिने खेलमा लाग्नुले नागरिक स्तरमा गम्भीर प्रश्न खडा गरेको छ।
धनुषा प्रहरीको चेतावनी: भ्रममा नपर्न आग्रह
अहोरात्र नागरिकको सेवामा खटिरहेको अवस्थामा संगठन र कार्यालय प्रमुखको निष्ठामाथि प्रहार गरिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले घोर निन्दा र भर्त्सना गरेको छ। एसपी रूपेश खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उक्त टिप्पणीमा लगाइएका आरोपहरू पुष्टि गर्न चुनौती दिँदै यस सम्बन्धमा कोही कसैलाई भ्रममा नपर्नहुन, अवाञ्छित भुइँको लोभले सामाजिक सञ्जालमा जथाभाबी सेयर नगर्न अनुरोध गर्दै यो सम्बन्धमा अविलम्ब प्रचलित कानुनबमोजिमको उपचारमा जाने जानकारी समेत गराउँदछु।”
कानुनको पालना गराउने प्रहरी अधिकारीहरूलाई नै यसरी राजनीतिक आडमा हतोत्साहित गर्ने र झुटो लाञ्छना लगाउने कार्यले समाजमा अराजकता मात्र निम्त्याउँछ। नियम र कानुन सबैका लागि बराबर हुने भएकाले प्रहरीलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण दिनु नै विधिको शासनको पहिलो सर्त हो

