सङ्ग्रामपुर प्रहरी चौकीका जवानद्वारा नागरिकमाथि कुटपिट, पीडितले टिकटकमा गरे लाइभ प्रसारण!

  |

मङ्गलबार, १० कार्तिक २०८३

सर्लाही!जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको प्रहरी चौकी सङ्ग्रामपुरका एक प्रहरी कर्मचारीले सर्वसाधारण नागरिकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले छानबिन सुरु गरेको छ।
यही २०८३ साल कार्तिक ८ गते प्रहरी चौकी सङ्ग्रामपुरमा कार्यरत प्रहरी जवान हरस राज मण्डलले पर्सा गाउँपालिका वडा नम्बर २ निवासी उमा मण्डलमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको घटना बाहिरिएको हो। पीडित मण्डलले आफूमाथि प्रहरीबाट भएको उक्त दुर्व्यवहार र कुटपिटको घटनालाई सामाजिक सञ्जाल टिकटकमा प्रत्यक्ष प्रसारण (लाइभ) समेत गरेका थिए। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र स्थानीय स्तरमा प्रहरीको कार्यशैलीप्रति तीव्र आलोचना भइरहेको छ।
आम नागरिकको जिउधनको रक्षा गर्ने र समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने मुख्य दायित्व बोकेको प्रहरीले नै सर्वसाधारणलाई विनाकारण रोक्ने र चेकजाँचको बहानामा कुटपिट गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। ग्रामीण क्षेत्रमा गस्तीमा खटिने तल्लो तहका प्रहरी कर्मचारीको कार्यशैली र इन्चार्जहरूको कमान्डमाथि समेत स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन्।
यस घटनाका सम्बन्धमा madheshview.com ले प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) फुयालसँग बुझ्दा उनले घटनाको आन्तरिक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। सई फुयालले भने, “यस घटनाको सत्यतथ्य के हो, हामी बुझिरहेका छौँ। यसबारे जिल्ला प्रहरी कार्यालयका एसपी साहबलाई समेत जानकारी गराइसकेका छौँ। अनुसन्धानका क्रममा प्रहरीको गल्ती देखिएमा कानुन बमोजिम कारबाही हुन्छ।”
कार्तिक ८ गते घटेको यस घटनाको जिम्मेवारी लिँदै चौकी इन्चार्जले जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन पठाइसकेको र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। यता स्थानीय बासिन्दाहरूले भने छानबिन निष्पक्ष हुनुपर्ने र दोषी प्रहरी जवान मण्डलमाथि तत्काल कडा कानुनी कारबाही गरिनुपर्ने माग राख्दै आएका छन।